सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक

संसदमा धवलले भने, ‘नेपालगन्जबाट नाथमलाई किन फिर्ता गरिँदैछ ?’

नाथमलाई नेपालगन्जबाट किन फिर्ता गर्न लागिएको हो ? यसको जवाफ चाहिन्छ ।

सांसद डा.धवलशमशेर राणाले नेपालगन्जमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) नेपालगन्जबाट फिर्ता हुन लागेको भन्दै संसदमा जवाफ मागेका छन् । डा.राणाले नाथम भन्ने संस्थाका लागि १० करोड बराबरको जग्गा दिएकोमा त्यो फिर्ता हुन लागेकोले त्यसलाई रोक्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डा.राणाले नाथमलाई नेपालगन्जबाट फिर्ता गर्न नहुने बताए । ‘संस्थाले राम्रो काम गरेको भन्दै त्यसका लागि बजेट दिने बताए पनि अहिले किन फिर्ता गर्न लागिएको हो ? यसको जवाफ चाहिन्छ । यसलाई फिर्ता गर्नुहुँदैन,’ प्रतिनिधिसभा बैठकमा प्रश्न डा.राणाले भने ।

नाथमले नेपालगन्जमा राम्रो काम गरेको बताउँदै डा.राणाले भने, ‘यो संस्था पश्चिम नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने देखिन्छ । यसलाई कसले किन फिर्ता लिन खोजिँदैछ । यसको जवाफ बाँकेबासीलाई चाहिन्छ ।’ झण्डै तीन वर्षअघि निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको पहलमा नेपालगन्जमा नाथम स्थापना भएको थियो ।

उनले नेपालगन्ज–देहारादुन, नेपालगन्च–चण्डीगढ फ्लाइट हुन लागेको र त्यसका लागि भारतीय पक्ष पनि तयार देखिएको उल्लेख गर्दै सो फ्लाइट सञ्चालन गरे तीन वटा प्रदेशको कायापलट हुने उल्लेख गरे । सांसद डा.राणाले दावी गर्दै भने, ‘कर्णाली, सुदूरपश्चिम र लुम्बनी प्रदेशको कायापलट हुनेछ ।’

साथै उनले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले लगाएको जरिवाना फिर्ता गर्न पनि उनले माग गरेका छन् । बैठकमा सांसद देवप्रसाद तिमिल्सिनाले संसदमा बोलेको कुरा कार्यान्वयन नहुने अवस्था रहेको बताए । उनले संसदमा उठाएका कुनै पनि कुरा कार्यान्वयन नहुने अवस्था रहेको बताए ।

उनले भने, ‘संसदमा यो मेरो दोस्रो कार्याकाल हो, संसदमा धेरैपटक उठाएका कुराहरु कुनै पनि कार्यान्वयन भएन । मल नपाएर किसानहरु पीडित छन् । किसानलाई चाहिने मल किन्न नसक्ने सरकारले अरुलाई के गर्न सक्छ ? भनेर जनगुनासो आइरहेकोले सभामुखले यस्तो संवेदनशील कुरालाई रुलिङ गरेर किसानलाई मलखादको व्यवस्था यथाशीघ्र गर्नुपर्छ ।’

उनले बनिरहेको दुर्तमार्ग, राजमार्ग निर्माणको काम छिटो सक्नका लागि निर्देशन दिनपनि माग गरे । यस्तै शून्य सयममा बोल्दै सांसद तेजुलाल चौधरीले अधिकार, पहिचान र भूगोलमाथिको अधिकारका लागि भइरहेको थारु आन्दोलनमा सरकारले बारम्बार किन दमन गरिरहेको भन्दै प्रश्न गरे । उनले कुनै दलले ५० औं जना चढेको बस बमले उढाएको भन्दै त्यो भन्दा टिकापुरको घटना ठूलो हो र ? भन्दै प्रश्न गरे ।

यस्तै सांसद दामोदर पौडेलले पोखराको फेवातालको सिमाङ्कन सकिएर सिमाङ्कनको प्रतिबेदन बुझाइसकिएको र त्यहाँका धेरै उद्योगी व्यवसायीहरु साना किसानहरुको जग्गा अधिग्रहणको सिमाङ्कन बाहिर परेको भनेर फुकुवा नुहँदा धेरै समस्या परेको बताएका छन् । उनले फेवातालको बारेमा बनेको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरे । पोखरा विमानस्थलमा अझैसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताउँदै रुट पनि नलिएको सुन्नमा आएको भन्दै त्यसबारेमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

सांसद दुर्गा राईले भोजपुर षडानन्द गाउँपालिका सानो इर्खुवा खोलामा स्थानीय जनतासँग स्वीकृति नलिई जलविद्युत आयोजना बनाउन थालिएको बताउँदै आयोजनाको सुरुङ खन्दा बस्ती नै जोखिममा पर्न लागेको जानकारी गराइन् । सुरुङ खनेको ठाउँभन्दा माथि घर चर्किने, जमिन भासिने जस्ता समस्या देखिन लागेको बताइन् । साथैका पानीको मुहान समेत सुक्न लागेको र हाइड्रोपावर कम्पनीले मनोमानी ढंगले काम गरेका कारण स्थानीय समस्यामा परेको सुनाइन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार १४:४४