सूचनाको शक्ति - The Power Of Information

        

बाँकेबाट पक्राउ परे नागरिक उन्मुक्ति पार्टीका सांसद

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी पोषराज पोखरेलले चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पुष्टि गरे । ‘सांसद चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको छ,’ डीआइजी पोखरेलले भने ।

डीआइजी पोखरेलले पक्राउ परेका सांसद चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीतर्फ लगिँदैछ ।’ १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । प्रतिनिधिसभा चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई भराउने फैसला गरेको थियो ।

साविक बलिया गाविस ५ का महादेव बजगाईँले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको निजी ट्याक्टर जलाएको आरोपसहित २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा मुद्दा हालेका थिए । उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनैजनालाई जनही ६ महिना कैद र बिगो असुल्न गर्न आदेश दिएका थियो ।

उक्त घटनामा प्रहरीले गत शुक्रवार वीरबहादुरलाई पक्राउ गरिसकेको छ । फरार सूचीमा रहेका सांसद चौधरीलाई पनि प्रहरीले खोजी गरिरहेको थियो । चौधरीले मुलुकी फौजदारी संहिता २०७४ को दफा १५५ बमोजिम नगद दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरिसकेको छ ।

उनलाई अदालतले ६ महिना कैद भुक्तान गर्न भनिसकेको छ । एउटै मुद्दामा एक व्यक्तिले कैद भुक्तान गर्दा अर्का (प्रतिनिधिसभा सदस्य) निर्वाचित भएपछि पक्राउ गर्न दबाब परेको थियो । चौधरी २०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित भएका थिए । तर मंसिर ४ को निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:१२