सूचनाको शक्ति - The Power Of Information

        

खानेपानी समितिका दुःख : ‘४० आम्दानी, ८० खर्च’

बाँकेको बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मासिक खर्च ७० देखि ८० हजार रुपैयाँसम्म पुगेको छ तर खानेपानीका ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपैयाँ मात्रै रहेको छ ।

खानेपानी आयोजनाले गरेको पाइपलाइन विस्तार अनुसार करिब दुई हजार ५०० भन्दा बढी घरधुरीसम्म खानेपानीको धारा जडान हुन सक्छ, तर न्यून सङ्ख्यामा मात्रै धारा जडान भएका कारण मासिक खर्चसमेत पुग्ने अवस्था नरहेको समितिका अध्यक्ष राजकुमार ढकालले जानकारी दिए ।

‘अधिकांशका घरमा ह्यान्डपम्प रहेका छन्,’ अध्यक्ष ढकालले भने, ‘स्वच्छ पिउनेपानीको महत्वबारे नबुझेकाले पनि धेरैको घरमा धारा जडान हुन सकेको छैन ।’ करिब सात करोडको लागतमा खानेपानी आयोजना निर्माण भई सञ्चालनमा आएको हो ।

बाँकेकै खजुरा गाउँपालिका–४, इगाउँमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पाइपलाइन विस्तार गरेअनुसार करिब एक हजार ८०० घरधुरीमा खानेपानीको धारा जडान हुन सक्छ, तर हालसम्म करिब ३०० घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको उपभोक्ता समितिका अध्यक्ष उज्वल बीसीले जानकारी दिए ।

ग्राहकबाट उठ्ने महसुलबाट मासिक खर्चसमेत धान्न नसक्ने अवस्था रहेको भनाइ उनको छ । सरकारले आमनागरिकलाई स्वच्छ पिउने पानीको उपलब्ध गराउने लक्ष्य अनुसार वडा तथा टोलबस्तीमा खानेपानी ट्याङ्की तथा पाइपलाइन विस्तार कार्य तीव्ररूपमा अघि बढाएको छ । तर थोरै मात्र उपभोक्ता समितिको ग्राहक बन्दा मासिक खर्चसमेत धान्न मुस्किल हुने अवस्था देखिएको छ ।

उपभोक्ता समितिले कर्मचारीको पारिश्रमिक, विद्युत् महसुल खर्च तथा मर्मतसम्भार खर्च धान्नसमेत नसक्ने अवस्था देखिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका प्रमुख तिलक न्यौपानेले सरकारले करोडौँ रुपैयाँ लगानी गरेर आमनागरिकलाई स्वच्छ पिउनेपानीको उपलब्धता गराउन खोजेसँगै आयोजनाको व्यवस्थापनका लागि उपभोक्तालाई समितिमा आबद्ध बनाउन आवश्यक भएको बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १४:३०