सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक

संसदमा धवलको गर्जन, ‘राजासहितको हिन्दु राष्ट्र स्थापना गर्छौं’

‘हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ । हामी फेरि राजासहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा.धवलशमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापना गर्ने लक्ष्य लिएर संसदमा आएको बताएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको शिक्षा प्रणाली र कर्मचारीतन्त्र राजनीतिग्रस्त भएकोले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

उनले पूर्ववक्ता सांसदहरूले राप्रपामाथि प्रहार गरेको बताउँदै डा.राणाले भने, ‘मैले पार्टीको कुरा नगर्ने बिचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो । यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला, तर हामी नेपाली जनताको मनमा भिजेका छौँ । हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ ।’

उनले अगाडी थप्दै भने, ‘हामी फेरि राजासहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन । संविधानमा यो अपरिवर्तनीय बुँदा भनिएको छैन । हामीले बोल्न पाउनुपर्छ हामी बोल्छौँ र त्यो हामी समयमा कार्यान्वयन गर्छौ । त्यसको मतलब यो होइन कि हामी संविधानलाई मान्दैनौँ, व्यवस्थालाई मान्दैनौँ ।’

‘नमान्ने भएको भए हामी जङ्गल जान्थ्यौँ । बन्दुक उठाउँथ्यौँ । यही संविधान र व्यवस्थाभित्र बसेर यो संविधानलाई हामीले बोकेको मूल्य र मान्यताभित्र बसेर परिवर्तन गर्न जनताले भोट दिएर हामी आएका छौँ । हामीलाई यो संसदभित्र हेप्ने काम नहोस्,’ उनले भनेका छन् । उनले सुकुम्बासीहरुलाई राजनीति गर्ने माध्यम नबनाई सुकुम्वासीहरूको पहिचान गरी सधैँका लागि सो समस्या समाधान गर्नका लागि पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:५८