सूचनाको शक्ति - The Power Of Information

        

पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मोर्चाबन्दी

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् ।

पार्टीको निर्णय प्रक्रियामा सभापति, पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समितिलाई भूमिकाविहीन बनाएको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नै मोर्चाबन्दीमा उत्रिएका हुन् ।

विगत सात महिनादेखि पटकपटक सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालीन बनेको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा ठोस निर्णय लिन नसकेको कांग्रेस नेतृत्वप्रति केन्द्रीय समितिकै नेताहरू सन्तुष्ट छैनन् ।

सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका कारण चुनावी तालमेल गरेको पाँच दलीय गठबन्धन उहाँकै कारण भत्किएको र पार्टीले राज्यशक्तिका सबै निकाय गुमाउन पुगेको भन्दै संस्थापनइतर समूहले नेतृत्वको आलोचना गरिरहेको छ ।

यही अवस्थामा मंगलबार संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूको छुट्टै भेला गरेर देउवालाई दबाब बढाएका छन् । सभापति देउवा पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले दोस्रोपटक अलग्गै भेला गरेका हुन् ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ०७:३६