सूचनाको शक्ति - The Power Of Information

        

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल बिहीबार श्रीलङ्का जानु हुने कार्यक्रम तय भएको छ ।

श्रीलङ्काको ७५ औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल माघ १९ गते बिहीबार श्रीलङ्का जान लाग्नु भएको हो ।

परराष्ट्रमन्त्रीको श्रीलङ्का भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।

परराष्ट्रमन्त्री हुनु भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नु हुनेछ । उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।

श्रीलङ्काको स्वतन्त्रता दिवस फेब्रुअरी ४ (माघ २१) मा रहेको छ । श्रीलङ्का ७५ वर्षअघि बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गर्नु भएको थियो ।

दक्षिण एसियाली मुलुक श्रीलङ्काले आर्थिक सङ्कटका बाबजुद यसपटक विशेष रूपमा अन्तर्राष्ट्रिय पाहुनाहरू बोलाएर आफ्नो स्वतन्त्रता दिवस मनाउन लागेको छ ।

भ्रमण सकेर मन्त्री पौड्याल आइतबार स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०८:५२