सूचनाको शक्ति - The Power Of Information

        

दादुरा महामारी

बाँकेका ३०० बालबालिका दादुरा संक्रमित, सात जना आइसोलेसनमा

संक्रमित भएकामध्ये २९२ जना निको भइसकेका छन् भने सात जना आइसोलेसनमा उपचाररत छन् ।

फाइल तस्वीर

बाँकेमा दादुरा संक्रमण प्रकोपको रुपमा फैलिएको छ । पुस १२ गतेदेखि फैलिएको दादुरा आइतबारसम्म ३०० बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेको पाँच पालिकामा गरी आइतबारसम्म संक्रमित बालबालिकाको संख्या ३०० पुगेको हो । हालसम्म संक्रमित भएकामध्ये २९२ जना निको भइसकेको छ, भने सात जना आइसोलेसनमा उपचाररत छन् ।

दादुराका कारण हालसम्म एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा गरी ३२ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । आइतबारसम्म एकलाख १५ हजार ७३५ जनालाई खोप दिइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १३:०३