काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताएका छन् । भारतीय प्रधानमन्त्रको नेपाल भ्रमणको विषयमा संसदलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
तीन वर्षअघि तनावपूर्ण रहेको दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको प्रधानमन्त्री ओलीले बताए । झण्डै एक घन्टा सम्बोधन गरेका उनले मोदी भ्रमणका उपब्लधीहरु सुनाए । साथै मोदीसँग भएको वार्तामा उठाएका तर, टुंगिन बाँकी रहेका विषयहरु पनि सुनाए । उनले ९ विषयमा सहमति भएको संसदलाई जानकारी गराएका छन् । नेपाल र भारतका बीचमा विगतमा थुप्रै सम्झौताहरु भएका छन् तर, कार्यान्वयनमा ढिलाइ भएको छ । ‘यस पटक हामीले सीमा तोकेका छौं संविधान दिवसलाई आधार दिन मानेर त्यसभित्र बाँकी कुरा कार्यान्वयन गर्ने सहमति गरिएको छ,’ उनले भने, ‘दुई देशका कृषिमन्त्री बैठक छिटै बस्ने र केके विषय र कुनकुन ठाउँमा कस्तो सहयोग सहकार्य अघि बढाउने हो ? तय गर्ने र त्यसअनुसार अघि बढ्ने सहमति गरेका छौं ।’
प्रधानमन्त्री ओलीले काठमाडौं रक्सौल रेल्वे निर्माण गर्न प्राविधिक कार्यदल बनाएर सर्वे सुरु गर्ने र छिट्टै समझदारी गर्ने सहमति भएको बताए । भारतले कार्यदलका रुपमा डिभिजनलाई जिम्मा दिइसकेको उनले जानकारी दिए । उनले नेपालको तर्फबाट कार्यदल बनाएर सर्वे गर्नुपर्ने बताए । उनले काठमाडौंदेखि रक्सौलसम्मको रेल्वे भारतकै खर्चमा सर्वे र भारतीय लगानीमा नै निर्माण हुने जानकारी दिए । उनले जलमार्ग सञ्चालन गर्ने सन्दर्भमा संयुक्त कार्यदल बनाएर सर्वे सुरु गर्ने सहमति भएको संसदलाई जानकारी दिए ।
नेपाल–भारत संयुक्त आयोगको विदेशमन्त्रीस्तरीय बैठक छिट्टै बस्ने प्रधानमन्त्री ओलीले जानकारी दिए । सम्बन्ध पुनरावलोकन र आर्थिक विकासको कार्ययोजना बनाउन बैठक महत्वपूर्ण हुने उनले विश्वास लिएका छन् । ‘नेपाल भारतको व्यापार असाधारण असन्तुलन छ । त्यसलाई के के बाटोबाट घटाउन सकिन्छ ?,’ उनले भने, ‘३ महिनाभित्र ब्यापार सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ, र भारतीय बजारमा नेपाली उत्पादनको पहुँच, चिया, अदुवा, जुट, अलैची निकासीमा देखिएको समस्याहरु समाधान गर्ने सहमति भएको छ ।’
प्रधानमन्त्री ओलीले एयर इन्ट्री रुट एउटा मात्रै भएको बताउँदै नेपालगञ्ज, भैरहवा, विराटनगर लगायतमा थप ४ स्थानबाट रुट बनाउने विषयमा दुई प्रधानमन्त्रीको तहमा प्राविधिक क्षमता अध्ययन गर्न निर्देशन भएको जानकारी दिए । उनका अनुसार प्राविधिक समितिले आगामी सेप्टेम्बरभित्र अध्ययन गरिसक्ने छ । ‘हाम्रा निम्ति हेर्दाहेर्दै डुवान गम्भीर समस्या बनेको छ । भारतीय पक्षले सीमामा बाटो बनाउने नाममा बाँध बाँध्दा डुवान भएको छ,’ उनले संसदमा भने, ‘यो छिमेक सम्बन्ध नसुहाउँदो र अन्यायपूर्ण काम भएको छ । यसबारे मैले अघिल्ला भ्रमणहरुमा पनि कुरा उठाएको थिएँ र यो पटक धेरै गम्भीरताका साथ कुरा उठाएँ ।’ उनले अहिले असल छिमेकीपनका लागि उपयुक्त वातावरण बन्न नसकेको बताए ।
‘भारतको सीमानामा आफ्नो जमिनको बचाउका लागि हाम्रो जमिन, बस्ती, खेती डुवानमा पार्नु बान्छनिय हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो समस्या समाधान गर्न दुबै तत्पर भएका छन् । हामी त तत्पर हुने नै भयो । भारत पनि तयार भएको छ । आउँदा वर्षा अगाडि नै कार्यदल बनाएर समस्याग्रस्त क्षेत्रको अवलोकन गर्ने र कहाँकहाँ कलभर्ट बनाउन सकिन्छ, प्राकृतिक रुपमा नै पानी पठाउन सकिन्छ गर्ने भनिएको छ ।’ उनले उर्जा ब्यापारका लागि ऊर्जा ब्यापार सम्झौता (पीटीए) भएको जानकारी दिए । त्यसविपरीत भारतले ५१ प्रतिशत आफ्नो लगानीको एकतर्फी प्रावधान राखेर नीति बनाएको उनले जानकारी दिए । ‘हामीले भन्यौं, यो नेपालमा लगानी हतोत्साहित गर्ने र समहतिसँग बाझिने नीति उपयुक्त भएन र हटाउनुपर्छ,’ उनले भने, ‘यसमा भारत सहमत भएको छ र पीटीए अनुसार नै हुने भएको छ ।’
यसैगरी प्रधानमन्त्री ओलीले मादीको भ्रमणमा आफूले नेपालको तर्फबाट उठाएका तर, नटुंगिएका विषयहरुका बारेमासमेत संसदलाई जानकारी गराए । उनले सन् १९५० सहितका पुराना सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह बनाएर काम गरिरहेको बताए । प्रवुद्ध समूहले कतिपय विषय समाधानको बाटोमा लैजान प्रयास गरेको भन्दै उनले १९५० को असमान सन्धिलाई समयानुकुल बनाउन सहयोग पुग्ने बताए । यस्तै पञ्चेश्वर अन्तरगत टनकपुरमा १३०० मिटरको लिंक रोड बनाउने सहमति भएको उनले बताए । ‘शारदा ब्यारेज लगायतका विषयहरुमा के गर्ने निश्कर्ष निस्किएको छैन तर, काम अघि बढाउने भएको छ,’ उनले भने, ‘महाकाली नदीमा तीन पुल बनाउने प्रस्ताव हामीले राखेका छौं र यसमा भारतीय पक्ष सकारात्मक देखिएको छ ।’
महेन्द्रनगरमा ४ लेनको पुल बनेपछि भारतीय राजमार्गमा जोड्न ६ दशमलव ८ किलोमिटर बाटो बनाउनुपर्ने प्रधानमन्त्री ओलीले संसदमा बताए । भारततर्फ बाटो बनाइदिन नेपालका तर्फबाट भनेको बताउँदै उनले भारत त्यसमा सकारात्मक रुपमा लिएको बताए । तर कुनै सम्झौता भने नभएको उनले जानकारी गराए । उर्जा बैंक स्थापनाबारे पनि कुराकानी भएको भन्दै प्रधानमन्त्री ओलीले यसमा भारतीय पक्ष पनि सकारात्मक रहेको जानकारी दिए । ‘बुटवल गोरखपुर ट्रान्समिसन लाइनबारे पनि सहमति नजिक छौं,’ उनले भने, ‘हुलाकी मार्ग निर्माणमा काम भइरहेको छ । यसमा दुबै तर्फबाट हुनुपर्ने कामहरु तदारुकताका साथ गर्ने भनेका छौं ।’
विराटनगर, भैरहवा, नेपालगञ्जमा पनि एकीकृत जाँच चौकी स्थापना गर्ने अनौपचारिक सहमति भएको बताउँदै प्रधानमन्त्री ओलीले जुट, एलपी ग्यास, औषधिको समस्याबारे छलफल गरेका र त्यस विषयमा वार्ता सकारात्मक भएको बताए । भारतमा नोटबन्दीको घोषणापछि नेपाली बैंकिङ प्रणालीमा रहेका नोटहरु सटहीबारे कुरा उठाए पनि भारतीय पक्षबाट खास जवाफ नआएको उनले बताए । उनले थप बन्दरगाह बनाउने विषयमासमेत छलफल भैरहेको जानकारी दिए । उनले मेडिकल शिक्षामा भारतीय विद्यार्थीहरुले नेपालमा पाएको जस्तो सुविधा नेपाली विद्यार्थीहरुले भारतमा पाउनपर्ने विषयमा आफूहरुले कुरा राखेको बताए । ‘हामीले भारत मेडिकल काउन्सिलको डकुमेन्ट स्वीकार गर्ने तर, हाम्रो नमान्ने स्थिति छ,’ उनले भने, ‘हामीले समान हुनुपर्छ भन्ने कुरा उठाएका छौं ।’
।