सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

अब कहाँ जान्छौं रवि दाई ?

बल्ल थाहा भो रबि दाई तिमी यो पृथ्वीमा रहेका कुनै पनि देशको नागरिक रहेनछौं । कतै मंगल ग्रहबाट आएको एलियन त होइनौं नि ? यदि हौं भने तिमीलाई समातेर चिडियाखानामा राख्लान् होसियार रहनु ।

घरको न घाटको भन्ने उखान झलक्क याद आयो, अब न अमेरिकाको नागरिक रह्यौं न नेपालको । अमेरिका जस्तो शक्तिशाली देशको नागरिका त्यागेर आफ्नो जन्मभुमिको लागि केही गर्छु भनेर खुब घमन्ड गर्दै नेपाल फर्केका थियौं । आज तिमिले मेरो जन्मभुमि भनेर घमण्ड गरेको तिम्रो जन्मभुमिको कानुनले तिमिलाइ दुई हातले तिम्रो नाकै थेप्चिने गरि लोप्पा खुवाइदियो, अब कहाँ जान्छौं ?

तिमिले मेरो जन्मभुमि भनेर घमण्ड गरेकै देशको कानुनले तिमिलाइ तँ मेरो देशको नागरिक होइनस् भनिदियो । त्त को होस् ? तँलाई म चिन्दिन भन्दियो । अब कहाँ जान्छौ ? कुन देश जान्छौ ? तिमी यो पृथ्वीमा रहेका कुनै देशको नागरिक रहेनौं । हिजो टेलिभिजनमा ६२ घन्टा लामो कार्यक्रम सञ्चालन गरेर गिनिज बुकमा नेपालको नाम लेखाएको भन्दै घमन्ड गर्नेहरू नै आज तिमिलाई नेपाली होइनस भन्छन् । अब तिनीहरुले त्यो रेकर्ड कुन देशको नागरिकको भन्लान् रबि दाई ?

रबि दाई तिमी यतिधेरै बेवकुफ छौं जस्तो लाग्दैन थियो तर रहेछौं । जननेता मदन भन्डारीले न्याय नपाएको देशमा न्यायको आश गर्ने तिमी कतिसम्म बेवकुफ रहेछौं त ? जुन देशमा जनप्रिय राजा श्री ५ बिरेन्द्र वीरबिक्रम शाहको परिवारले न्याय नपाएको देशमा न्याय पाउँछु भनेर आश गर्ने तिमी नाथे को हौं ? बल्ल थाहा भो रबि दाई तिमी यो पृथ्वीमा रहेका कुनै पनि देशको नागरिक रहेनछौं । कतै मंगल ग्रहबाट आएको एलियन त होइनौं नि ? यदि हौं भने तिमिलाई समातेर चिडियाखानामा राख्लान् होसियार रहनु ।

म तिम्रो सपोर्टमा केही बोल्न र लेख्न चाहान्न किनकी म पनि झन्डै दुई दशक भो खाडीतिर बसेको । यदि आज तिम्रो सपोर्टमा दुई चार शब्द बोलें या लेखें भने भोलि अर्को युवराज सफल भन्ने मान्छे ननिस्केला भन्न सक्दिन । भोलि फेरि अर्का सुरेन्द्र भन्डारीजस्तै कालाकोटेहरु ननिस्केलान भन्न सकिन्न । आज तिम्रो सपोर्टमा बोल्दै या लेख्दै गर्दा दुई दशकसम्म नेपाल नबसेको मान्छे नेपालको नागरिक हुन सक्दैन भन्दै अदालतमा मुद्दा दर्ता नगराउलान् भन्न सकिन्न । अनि नेपालको न्यायालय र कथित श्रीमानहरु कसको खल्तीमा छन्, त्यो त सर्वबिधितै छ ।

सानैदेखि सुन्दै आएको थिएँ सतिले सरापेको देश भनेर म सोच्ने गर्थें किन भन्दा हुन सतिले सरापेको देश भनेर, तर अब चैं पक्का भो यो देशमा राम्रो गर्न खोज्ने मान्छेलाई रहन नदिने भएकै कारण त्यसो भन्दा रहेछन् । मदन भण्डारी थिए देश बनाउनुपर्छ भन्दै अघि बढेका उनलाई नारायणीमा हाल्दिए । जनप्रिय राजा श्री ५ बिरेन्द्र थिए उनको बंश नै नाश गराए । तिमी पनि देशको लागि केही गर्छु भनेर अमेरिका बसाई त्यागेर आएका थियौं तिमिलाई जीउँदै त छोडे तर न घरको न घाटको बनाइदिए । अब तिमी न अमेरिकाको रह्यौं न नेपालको रह्यौं, अब कहाँ जान्छौ रबि दाई ?

चुनावको तीन दिन पछाडी मातृभुमी छोडेर रोजगारीको शिलशिलामा फर्किदै गर्दा अब त केही हुन्छ र छिटै परदेश छोडेर घर देश फर्किने माहोल बन्छ कि भन्ने आशा लिएर फर्किएको थिएँ, तर आशाको किरण अलिकती चम्किन नपाउँदै कालो बादलले घ्वाप्पै ढाकिदियो । खैर केही छैन, यतिका बर्ष परदेश बसियो अझै पाँच बर्ष बसौंला, तर एउटा सुझाव दिन चाहान्छु । अब नेपालको कानुनले भने जस्तै गरि नागरिकता लिनु र मिल्ने भए उपचुनाव लड्नु चितवनबासी जनताले अझै धेरै मतान्तरका साथ अवस्य जिताउनेछन् । त्यसपछि केपि र प्रचण्डहरुको खेलौना बन्न नजानुहोस् ।

यी देशद्रोहीहरुको सरकारलाई दिएको समर्थन फिर्ता लिनुहोस् र आफ्ना मन्त्रीहरुलाइ फिर्ता बोलाउनु र एउटै मुद्दा उठाउनु कि म जस्ता ५०–६० लाख जो देश बाहिर छन् तिनीहरुले पनि आगामी निर्वाचनमा परदेशबाटै भोट हाल्न पाउने वातावरण मिलोस् । बस एकै चुनावमा यी दलालहरुको पार्टी, शक्ति र सत्ता परदेशमा रगत पसिना बेच्न बाध्य भएका युवाहरुले कसरी उत्तानो टाङ्ग पार्दिन्छन्, त्यो समयले बताउनेछ । बस एकपल्ट त्यति अवसर मिलोस् हामी परदेशमा बसेर देश रोइरहेको टुलुटुलु हेर्न बिवश आगामी दिनमा तपाईंजस्तै अनागरिक हुने सम्भावना बोकेका अभागीहरुलाई ।।

स्रोत : लेखकको फेसबुकबाट
प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १०:०३

सिफारिस