सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

नेपालको मौसममा अरबी वायुको प्रभाव

देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । विभागका अनुसार आज राति प्रदेश–१ मा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यी दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरको छ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसमविद्हरूको भनाइ छ । जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार ०९:३२