सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा हिमपात, हिउँले ढाक्यो जुम्ला

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगास लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।

सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

हिउँले ढाक्यो जुम्ला

जुम्लामा आज (मंगलबार) बिहानदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ । जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको छ । भारी हिमपातले बिहानैदेखि मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् ।

पाँच इन्च हिउँ जमेको छ । हिमपातले बिहानैदेखि सडक यातायात ठप्प छ । पशुवस्तुलाई समेत गोठबाट निकाल्न गाह्रो भएको स्थानीय बताउँछन् । वर्षा र हिमपातले किसान हर्षित भएका छन् । लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो ।

भोकमरी हुने भन्दै किसान चिन्तामा थिए । चन्दननाथ–२ का गोविन्द आचार्यले हिमपातपछि बालीनाली सप्रिने बताए । हिमपात जारी रहेकोले सुख्खा जमिनमा चिस्यानको मात्रा बढ्ने भएकाले लगाएको अन्नबाली सप्रिने उनले बताए ।

खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १२:५९