सूचनाको शक्ति - The Power Of Information

        

दुई दलबीच अर्थपूर्ण एकता

माओवादी–एकीकृत समाजवादीको एकता अलमलमा

नेकपा एकीकृत समाजवादीको मुख्य जोड माओवादीसँग एकता गर्ने रहेको छ । तर, माओवादीसँग मिहिन रूपमा छलफल गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको प्रयासले अपेक्षाकृत गति लिन सकेको छैन । तर, प्रयास भने जारी छ । एकताका लागि दुवै पार्टीले वार्ता समिति गठन गरेका छन् । तर, वार्ता समितिबीच आवश्यक छलफल हुन सकेको छैन ।

आइतबार वार्ता समितिको बैठक बसेको थियो । तर, बैठकमा सामान्य चियापान मात्रै भएको एक नेताले जानकारी दिए । एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठनको एउटा उद्देश्य कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने पनि थियो ।

यसबीचमा एकीकृत समाजवादीले केही साना कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गरेता पनि अर्थपूर्ण एकता गर्न सकेको छैन । नेकपा एकीकृत समाजवादीको मुख्य जोड माओवादीसँग एकता गर्ने रहेको छ । तर, माओवादीसँग मिहिन रूपमा छलफल गर्न सकेको छैन ।

बरू, जनता समाजवादी पार्टी (जसपा) लगायतका छलफललाई तीब्रता दिएको छ । एकीकृत समाजवादीसँग एकता गर्ने योजनामा रहेको माओवादीले पनि ठोष कदम चाल्न सकेको छैन । बरू, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई पार्टीमा गाभ्ने प्रयास अन्तिम चरणमा पुर्याएको छ ।

निर्वाचन र सरकार गठनले सुस्तायो

एकीकृत समाजवादी गठन भएलगत्तै स्थानीय निर्वाचन सम्पन्न भयो । त्यसलगत्तै संघ र प्रदेशको निर्वाचन भयो । निर्वाचनहरूका कारण एकताका लागि गृहकार्य गर्न नै नसकिएको एकीकृत समाजवादीका एक नेता बताउँछन् ।

ति नेताले भने, ‘पार्टी गठन भएसँगै कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्ने नीति अवलम्बन गरिएको हो । तर, निर्वाचनहरूका कारण एकताका लागि आवश्यक पहलकदमीले गति लिन सकेन । प्रयास भने जारी नै छ । ढिलोचाडो एकता हुन्छ ।’

संघको निर्वाचनपछि भएको समीकरण फेरबदलका कारण पनि यी दुई पार्टीबीचको एकता प्रयास अलमलमा परेको छ । नयाँ पार्टी गठन अगाडि देखिनै नजिकबाट सहकार्य गर्दै आएको माओवादीले नेकपा एमालेसँग सहकार्य गर्दै सरकार गठन गरेपछि यी दुई पार्टीको एकता प्रकृया झनै अलमलमा परेको छ ।

वर्ष अघिमात्र छोडेको पार्टीसँग सहकार्य गरिरहेको माओवादीसँग तत्काल एकता गर्दा आइपर्ने नैतिक संकटका कारण पनि एकीकृत समाजवादी अन्योलमा परेको हो । तर, यसबिचमा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सम्बन्ध कायम राखेको छ ।

माओवादी बैठकले के निर्णय गर्छ ?

यसबीचमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । माघ १५, १६ र १७ गते बस्ने बैठकबाट माओवादीले एकताका लागि ठोष निर्णय गर्ने बुझिएको छ । त्यसपछि एकता प्रकृयाले गति लिने दुवै पार्टीका नेताको बुझाइ छ ।

माओवादीको केन्द्रीय समिति बैठकमा पार्टी एकताको सन्दर्भमा विशेष छलफल हुने बताइएको छ । मुख्यगरी एकीकृत पार्टीको विचारधारा र नामको सन्दर्भमा छलफल हुने माओवादीका एक नेताले बताए ।

ति नेताका अनुसार केन्द्रीय समितिले सबै कम्युनिष्ट धारका शक्तिहरूलाई अटाउन सकिने नाम बैठकमा प्रस्तावका रूपमा प्रस्तुत हुने र सोही अनुरूप एकताका प्रकृयाहरू अघि बढ्नेछ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १४:१२