सूचनाको शक्ति - The Power Of Information

        

कुष्ठरोगका नयाँ बिरामी फेला

बाँकेमा कुष्ठरोग निवारणमा चुनौती

यस क्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ ।’

बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्न थालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ । एक वर्षको अवधीमा १५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा १५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मंगल थारुले जानकारी दिए । उनका अनुसार, पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् ।

अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेका उनले बताए । बाँके र बर्दियाका दुई–दुईजना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ ।

आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारुले बताए ।

गत आर्थिक वर्षमा बर्दिया र बाँकेका तीन ठाउँमा राखिएको शिविरमा पाँच हजार ५८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए । साथै आव २०७८–७९ मा १५ हजार ५८२ जना बिरामीले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिए पनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् ।

‘पाँच वर्षसम्म कुनै पनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर यस क्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ,’ उनले भनिन् ।

उनले कुष्ठरोग निवारणको लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताइन् । पछिल्लो समय बालबालिकामा पनि सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद आचार्यले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १६:३२