दुख्नलाई बाँकी छैनन् शरीरका कुनै अङ्ग,
भोग्नलाई बाँकी छैनन् जीवनका कुनै रङ्ग,
घट्दैछ आस्था ईश्वरमा देखेर अधर्मीहरूको चाला,
रजगज छ दानवहरूको उनीहरूकै छ बोलवाला,
भयावह दृश्यहरू हेर्दा हेर्दा थाकिसक्यौं,
पीडादायी खबरहरू सुन्दासुन्दा आत्तिसक्यौं,
उड्दाउड्दै खस्ने हो कि बस्दाबस्दै ढल्ने हो ?
आकाशले च्याप्ने हो कि धरतीले निल्ने हो ?
सञ्जालका तस्वीरहरूले ओठतालु सुक्छन् अचेल,
दोषारोपणको सिलसिलाले मन मुटु जल्छन् अचेल,
ममः कहिल्यै नगर्नेले अनिष्ट नै अनिष्ट गराउँदैछन्,
पानीमाथिका ओभानाले मरेकालाई दोष लगाउँदैछन्,
नश्वर छैनौं तिमी पनि तिमीलाई नि एकदिन मर्नै पर्ला
कहाँ मर्नेछौं कसरी मर्नेछौं निर्क्यौल तिम्रै कर्मले गर्ला,
कहाँ छ तिम्रो लाज र डर ? कसरी यस्तो निर्दयी बन्छौं ?
अर्काको दुःखले छुँदैन त तिमीलाई, संवेदनशील छु फेरि कसरी भन्छौं ?
कमला डिसी । बाँके