न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ ।
सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उहाँले फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्नुभयो ।
आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुने तय भएको छ । उक्त निर्वाचनबाट आफू पुनः निर्वाचित हुने सम्भावना रहे पनि त्यसो नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री बनेपछि देशका ठूला चुनौतीहरु झेलेको र त्यसले आफ्नो परिवारलाई समय दिन नपाएको भन्दै अब पुनः निर्वाचित हुने ईच्छा नरहेको उहाँको भनाइ थियो ।
अक्टोबरको निर्वाचनपछि नयाँ व्यक्तिले जिम्मेवारी सम्हाल्नु भन्ने आफ्नो चाहना रहेको पनि आर्डनले बताउनुभयो । कोभिड कालमा कठोर नीति लिएको भन्दै देशभित्र उनको आलोचना हुँदै आएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ