हवाई क्षेत्रमा युरोपेली युनियन (इयू)को कालोसूची हटाउने नेपालले प्रयास गरिरहँदा आइतबार देशले अर्काे ठूलो हवाई दुर्घटना भोगेको छ । यती एयरलाइन्सको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाए । आन्तरिकतर्फको हवाई दुर्घटनामा यो अहिलेसम्मकै ठूलो मानवीय क्षति हो ।
यो दुर्घटनाले नेपालमा हवाई क्षेत्रको सुरक्षामा फेरि प्रश्न उठेको छ । नेपाल अत्याधिक हवाई दुर्घटना हुने देशमा पर्दै आएको छ । सोहीकारण नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो छैन । मौसम र भूगोल विगतका दुर्घटनाको प्रमुख कारण मानिन्थ्यो । तर, आइतबार मौसम र भूगोल दुवै सामान्य थियो । त्यसकारण यो दुर्घटनाको कारणबारे अनेक प्रश्न उठेका छन् ।
किन अस्वभाविक मोडियो ?
विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन २ किलोमिटर मात्र बाँकी थियो । पोखरा विमानस्थलको टावरले ‘रनवे ३०’ मा अवतरण गर्नका लागि प्रस्ताव गरे पनि क्याप्टेनले ‘रनवे १२’ रोजेका थिए । त्यसमा उनले अनुमति पाइसकेका थिए । तर, त्यसलगत्तै विमान अस्वभाविक रुपमा माथितर्फ मोडिएको एक भिडियोमा देखिन्छ ।
अवतरण हुन लागेको विमान आकाशतर्फ मोडिएर पल्टिएको सो भिडियोमा देखिएको छ । जसले हवाई विज्ञलाई नै आश्चर्यमा पारेको छ । यस्तो दुर्घटना विगतमा खासै थाहा नभएको उनीहरूले बताएका छन् । इन्जिनमा गडबढी भएको भए पनि पाइलटले टावरलाई जानकारी गराउँथे । तर, जानकारी गराएका थिएनन् । कमल केसी अनुभवी पाइलट थिए । को–पाइलट अञ्जु खतिवडा पाइलटमा बढुवा हुन केही सेकेन्ड मात्र टाढा थिइन् ।
त्यो उडान पुरा गरेको अवस्थामा उनी क्याप्टेन हुने थिइन् । यस्तो अवस्थामा त्यो दुर्घटना भएको थियो । कुनै समस्या बिना नै विमानस्थलको छेउमा भएको यो दुर्घटनालाई बढी नै रहस्यमय मानिएको छ । सरकारले दुर्घटनाको विषयमा छानबिनका लागि पूर्वपर्यटन सचिवको नेतृत्वमा समिति गठन गरेको छ । तर, यस्ता छानबिन पनि सामान्यतया सतही हुने गरेका छन् ।
फेसबुक लाइभले जन्माएको गम्भीर प्रश्न
विमान दुर्घटनाअघि एक यात्रुले फेसबुक लाइभ गरिरहेको भनिएको दृश्य यतीबेला भाइरल भइरहेको छ । विमान अवतरण हुनै लाग्दा सो फेसबुक लाइभ भएको भानिन्छ । लाइभमा विमान अस्वाभाविक रुपमा हल्लिएलगत्तै आगो लागेको देखिन्छ । यो घटनाले दुई वटा प्रश्न जन्माएको छ । एउटा यसरी विमानभित्र फेसबुक लाइभ किन गर्न दिइयो ।
किनकि, हवाई सुरक्षाको नियमअनुसार आन्तरिक उडानमा मोबाइल स्वीच अफ वा फ्लाइट मोडमा राख्नुपर्ने हुन्छ । मोबाइल प्रयोग गर्दा हवाइ टावर प्रभावित हुन्छ । त्यहीकारण यात्रुलाई मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइड प्रयोगमा रोक लगाइएको हुन्छ । अर्काेतर्फ सो भिडियोमा तत्कालै विमानमा आगो लागेको देखिन्छ । अर्थात् आकाशमै विमानमा आगो लागेको देखिएको छ । यसको मतलब विमानमा कतै खराबी त थिएन भन्ने प्रश्न उठेको छ ।
क्यानको भ्रष्टाचार र हवाई सञ्चालकको पावर
नेपालमा निजी एयरलाइन्स सञ्चालकहरू असाध्यै प्रभावशाली छन् । देशका ठूला नेताहरूसँग उनीहरूको हिमचिम छ । जसकारण नीति निर्माण तहमै एयरलाइन्स कम्पनीहरूको हस्तक्षेप छ । जसले गर्दा हवाई क्षेत्रमाथि सरकारले बलियो नियमन गर्न सकेको छैन । अत्याधिक दुर्घटनाको एउटा कारण यो पनि भएको विज्ञहरू बताउँछन् ।
हवाई सञ्चालकहरूको शक्तिको एउटा उदाहरण नेपालमा विदेशी नागरिकले हवाई सेवामा टिकटको दोब्बर तिर्नुपर्ने नियम एक हो । कुनै पनि देशमा यस्तो नियम छैन । तर, नेपालका एयरलाइन्स कम्पनीहरूले मिलमेतोमा यसरी दोब्बर शुल्क असुलेर विदेशीलाई खुलेआम ठगी गर्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)भित्र सधैं राजनीति हुँदै आएको छ ।
जहाँ उच्च तहमा नियुक्तिमा सधैं आर्थिक चलखेल हुने गरेको छ । यसरी पैसा बुझाएर नियुक्ति हुनेहरू कमाउनेतर्फ लाग्ने र उनीहरूको कमाईको प्रमुख स्रोत एयरलाइन्स कम्पनीहरू हुने गरेका छन् । जसकारण बलियो नियमन हुन नसक्दा निजी एयरलाइन्सहरूको मनोमानी छ । दुर्घटनाको एउटा कारण यसलाई समेत मानिएको छ ।
नागरिक उड्डयन प्राधिकरण कमजोर रहेको क्याप्टेन प्रचण्डजंग शाह बताउँछन् । सेवा पनि प्रभाव गर्ने र नियमन पनि गर्ने भएकाले समस्या भएको उनको भनाइ छ । नियमन राम्रो नहुनुको कारण क्यानभित्रको भ्रष्टाचार पनि रहेको उनी बताउँछन् । नेपालमा पुराना जहाज चलाइएका कारण पनि दुर्घटना बढेको आम बुझाइ छ । तर, विज्ञहरू जहाज पुरानो नहुने बताउँछन् ।
जहाजका पार्टपूर्जा निश्चित अवधिमा फेर्नपर्नेमा त्यसमा लापरबाही हुने गरेको स्रोत बताउँछ । हवाई पाटपूर्जा असाध्यै महंगो हुन्छ । तर, त्यसको नागरिक उड्डयन प्राधिकरणले समयमा प्राविधिक अडिटिङ गर्न सक्दैन । सोही कारण हवाई कम्पनी सञ्चालकको मनपरी बढेको बताइन्छ । कतिपय अवस्थामा नाफाकै लागि हवाई कम्पनीले खराब मौसममा पनि जहाज उडाउने गरेका छन् ।
गत जेठमा मुस्ताङमा खराब मौसमकै कारण दुर्घटना भएको थियो । बादलका कारण क्याप्टेनले बाटो नै नदेख्दा जहाज भिरमा गएर ठोक्किएको थियो । हवाई क्षेत्रमा हुने भ्रष्टाचार र भौगोलिक कारण नेपालमा हुने दुर्घटनाको प्रमुख कारण हो । यसलाई तत्काल रोक्न नसके हवाई दुर्घटनाकै कारण नेपाल विश्वमा बदनाम हुने र पर्यटक आगमन बन्द हुने निश्चित छ ।
नेपालमा हरेक वर्ष हवाई दुर्घटना
नेपालमा हरेक वर्षजसो हवाई दुर्घटना हुँदै आएको छ । पर्यटन मन्त्रालयको तथ्याङकअनुसार नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएका छन् । जसमध्ये ३५ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा परेका छन् । जसमा ८९७ जनाले ज्यान गुमाएका छन् ।
आइतबार पोखरामा यती एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटनामा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना हो । एटिआर जहाजको उडान नेपालमा सुरक्षित मानिने भए पनि यो घटनाले हवाई क्षेत्रलाई असुरक्षित बनाएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई पनि ठूलो धक्का लाग्ने निश्चित छ ।
नेपालमा पहिलो पटक १९५५ मा कालिंगा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ विमान दुर्घटनामा परिसकेका छन् । ती दुर्घटनामा ३७३ यात्रुले ज्यान गुमाएका थिए भने ३८५ जना घाइते भएका थिए ।
१५ मे १९५६ मा इन्डियन एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना हुँदा १४ यात्रुको ज्यान गएको थियो । यस्तै, २४ मार्च १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज पत्नेभञ्ज्याङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । ३१ जुलाई १९९२ थाई एयरवेजको जहाज नुवाकोटको घ्याङफेदीमा दुर्घटना हुँदा ११३ यात्रुको ज्यान गएको थियो ।
२८ सेप्टेम्बर १९९२ मै पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा १६७ जनाले ज्यान गुमाएका थिए । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको थियो । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रनवेभन्दा बाहिर जाँदा २३५ यात्रु घाइते भएका थिए ।
त्यो समय जहाज धावनमार्गमा अड्किँदा तीन दिनसम्म विमानस्थल बन्द गर्नुपरेको थियो । त्यस्तै २०१८ को मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै एयर बंगला दुर्घटनामा परेको थियो । आन्तरिकतर्फ नेपालमा हिमाली र पहाडी क्षेत्रमा धेरै दुर्घटना भएका छन् । लुक्ला, सिमकोट, जुम्ला, मुस्ताङ लगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भएको पर्यटन मन्त्रालयको तथ्याङक छ । पोखरा–मुस्ताङ उडानमा सबैभन्दा धेरै चार वटा जहाज दुर्घटना भएका छन् ।
नेपालमा हेलिकोप्टर सेवा पनि सुरक्षित छैन । नेपालमा १७ वटा हेलिकोप्टर दुर्घटनामा ८५ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै फिस्टेल हेलिकोप्टर आठ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएका छन् । चार वर्षअघि हेलिकोप्टर दुर्घटनामा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नै ज्यान गुमाएका थिए । यसरी हवाई दुर्घटना बढेपछि नेपालमाथि हवाई क्षेत्रमा नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय आइकाओले समेत थप कारबाही गर्ने जोखिम बढेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं