सूचनाको शक्ति - The Power Of Information

        

सभामुखकाे चुनाव माघ ५ गते बिहान ११ बजे

 प्रतिनिधि सभाका सभामुखको चुनाव यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सङ्घीय संसद् सचिवालयले आज मङ्गलवार प्रकाशन गरेकाे तालिकाअनुसार माघ ४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची त्यही दिन दिउँसाे ४ बजेर १५ मिनेटमा प्रकाशित गरिने छ ।

प्रतिनिधि सभाको माघ ५ गते ११ बजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधि सभाको गएकाे पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको चुनाव गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १९:२१