सूचनाको शक्ति - The Power Of Information

        

साँझ फर्किन्छु भन्दै घरबाट ‘टिफिन’ लिएर निस्केका पाइलट आकाशमै हराए

आइतबार बिहान यति एयरलाइन्सका पाइलट कमल केसी घरबाट निस्किने तयारीमा थिए । बिहान उनले काठमाडौंबाट पोखरा फ्लाइट गर्नुपर्ने थियो । उनी निस्किने बेलामा सधैझैँ श्रीमती शिलाले उनी ‘टिफिन’ तयार गरिदिइन् । टिफिनमा थियो अंगुर ।

६० वर्षीय पाइलट केसीलाई श्रीमतीले अंगुर अमिलो छ कि भनेर चाख्न आग्रह गरेकी थिइन् । तर उनले अमिलो भए साँझ फिर्ता ल्याउँछु भन्ने जवाफ फर्काए । केसीका पारिवारिक सदस्यका अनुसार उनले साँझ ४ बजे आफु काठमाडौंको बूढानीलकण्ठ नगरपालिका इटालीटार घरमा आइपुग्ने भन्दै श्रीमतीलाई खाना बनाएर राख्नु भनेका थिए ।

केसी घरबाट निस्किए । उनले सधैं जहाज ‘ल्यान्ड’ गरेपछि श्रीमतीलाई फोन गर्ने गरेका थिए । तर आइतबार श्रीमानको फोन कुरिरहेकी शिलालाई फोन आएन । साँझको खाना खाने बाचा गरेर उडान भर्न निस्किएका केसी आकाशमै हराए । कहिल्यै नफर्किने गरि । एकाएक पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको खबर बाहिरियो ।

त्यही खबर पर्यो श्रीमतीको कानमा । यतिबेला परिवार शोकमा छ । वृद्ध अवस्थामा रहेका आमाबुबा पोखरामा ‘मरेतुल्य’ महसुस गरिरहेका छन् । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको छ । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जना परेका थिए ।

त्यसमध्ये तीन जनाबाहेक बाँकी ६९ जनाको शव फेला परिसकेको छ । चार जनाको खोजी जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको जहाज बिहान १० बजेर ३२ मिनेटमा उडेको थियो । तर पोखरा विमानस्थलमा अवतरण गर्न पाएन । दुर्घटनाग्रस्त जहाजका पाइलट थिए, ६० वर्षीय कमल केसी ।

अवतरणको नजिक पुगेर दुर्घटनामा परेको जहाज पाइलट केसी र अञ्जु खतिवडाले उडाएका थिए । केसी नेपाली आकाशमा उडान भर्ने अनुभवि पाइलटमध्ये एक थिए । अमेरिकाबाट पाइलट अध्ययन गरेर नेपाल आएका केसी ०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाउँदै आएको आफन्तहरु बताउँछन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित इटालीटार बस्दै आएका केसीका दुई छोरा र श्रीमती छन् । परिवारका सदस्यका अनुसार पाइलट केसी सानो–सानो कुरामा खुसी हुन्थे । सधैं सकारात्मक सोच राख्थे । कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा २०१९ सालमा जन्मिएका उनी पाइलट पेशाबाट अवकाश लिएर परिवारसँग समय बिताउने योजनामा थिए ।

पाइलट कमल केसीको निधनले कास्कीको रूपा गाउँपालिका शोकमा डुबेको छ । उनका आमाबुबा कास्कीमै बस्छन् । पाइलट केसीका आफन्तले भने, ‘दुर्घटनापछि आमाबुबाको अवस्था हेर्न सकिरहेका छैनौं । निकै मिलनसार हुनुहुन्थ्यो । पाइलट भएपछि परिवारलाई दिने समय कम थियो । अब त सधैंका लागि हराउनुभयो ।’

केसीले हालको रूपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेका थिए । कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनति र अनुशासित थिए । ६ दशक पुगेका केसी अनुभवि पाइलटका रूपमा परिचित थिए । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण केसीले नै गराएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १५:३०