सूचनाको शक्ति - The Power Of Information

        

पानी पार्ने प्रणाली सक्रिय हुँदा पनि किन भएन वर्षा ?

अघिल्ला वर्षहरूको तुलनामा यसपालि जाडो महिनामा पानी परेको छैन । विगतका वर्षहरूमा पुसमा समेत वर्षा हुन्थ्यो । तर, यसपालि माघ लागिसक्दा पनि सुक्खा छ । मौसम पूर्वानुमान महाशाखाले अझै कम्तीमा तीन दिन देशभर वर्षाको सम्भावना नरहेको जनाएको छ । यो अवधिमा बदली भने हुनेछ ।

महाशाखाका अनुसार यसपालि अहिलेसम्म न्यूनतम तापक्रम पनि औसमभन्दा माथि छ । ‘अघिल्ला सालहरूमा विन्टरमा पनि रेन फल हुन्थ्यो, हो । यसपालि पनि हुन्छ । तर, अहिलेचाहिँ विन्टर ड्राइ भइरहेको छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘हामीले जाडोयाम सुरु हुनुभन्दा अघि नै अहिलेको विन्टर केही ड्राई (सुक्खा) हुने, साथसाथै न्यूनतम तापक्रम पनि औसतभन्दा माथि हुने भनेका थियौँ ।’

उनले तापक्रम पनि औसतसम्म नझरेको बताए । उनका अनुसार जाडोयाममा पश्चिमी वायुको प्रणालीले पानी पर्ने हुन्छ । अहिले नेपालमाथि पश्चिमी वायुको प्रणााली सक्रिय नै भए पनि वर्षा नभएको उनले बताए । ‘जाडोयाममा पानी पार्ने भनेको पश्चिमी वायुको प्रणालीले हो । अहिले नेपालमाथि पश्चिमी वायुको प्रणााली सक्रिय नै छ । तैपनि, पानी परेको छैन,’ उनले भने, ‘यो प्रणाली भोलिसम्म रहेर पर्सिबाट नयाँ प्रणाली प्रवेश गर्छ, नेपालमा । त्यसले पनि त्यस्तो मोस्चर (आर्द्रता) ल्याउने देखिएको छैन ।’

जलवाष्प नभई पानी नपर्ने उनले बताए । अहिले नेपालमा पानी पार्ने मात्रामा जलवाष्प नभित्रिएको उनले जानकारी दिए । ‘जलवाष्प नभईकन पानी पर्ने सम्भावना एकदमै कम हुन्छ । त्यसैले पनि पानी पर्ने सम्भावना कम भएको हो । जुन हावा आइरहेको छ नेपालतिर, त्यसमा चाहिँ त्यति मात्रामा, पानी पार्ने मात्रामा जलवाष्पचाहिँ भित्रिरहेको छैन,’ उनले भने, ‘त्यसैले गर्दाखेरि रियालिटीमा पानी पर्न सकिरहेको छैन ।’

अबका तीन–सात दिनसम्म पानी पर्ने सम्भावना नदेखिएको उनले बताए । तर, धेरै दिन परको पूर्वानुमान कमजोर हुने उनले उल्लेख गरे । विभिन्न कारणले धेरै दिन टाढाको पूर्वानुमान मिल्ने सम्भावना कम हुँदै जाने मौसमविद् श्रेष्ठको भनाइ छ । ‘आगामी तीन दिन, सात दिनसम्म पनि त्यस्तो पानीको सम्भावना देखिएको छैन,’ उनले भने, ‘तर, हामी जति टाढाको फोरकास्ट (पूर्वानुमान) हेदै जान्छौँ, त्यतिचाहिँ नमिल्ने चान्स बढ्दै जान्छ ।’

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ११:२५