जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो । बाँदरको शिकार, कन्दमुल लगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जंगलमै भएता पनि उनीहरू खुशी र बलिया थिए । लोभलालच गर्दैन थिए । अलग्गै पहिचान थियो । आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय परिचित थियो ।
जंगलमा काठका भाडाकुडा उत्पादन गरेर नजिकका गाउँहरूमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर थिए । आफ्नै चालचलन रितिथितीमा अडिक थिए । उनीहरूको एक बोली थिए । अरुले भनेको पनि र आफुले भनेको पनि पुर्याउँथे । आफुले भनेको कुरामा विश्वास घात नगर्ने उनीहरू अरुले केही दिन्छु भनेर विश्वासघात गरेको कुरामा अडिक र आफु बलियो भएर पनि लैजान्थे । त्यसैले पनि गाउँमा राउटे पुग्ना र देख्ना साथ सबैजना रमाइलो मान्दै हेर्थे पनि र सजक पनि हुन्थे । कति कुरा बोल्ने कति नबोल्ने भनेर ।
यो समुदाय कर्णाली र सुदुरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो । यो घुमन्ते जातिको रुपमा रहेका राउटे समुदाय पछिल्लो समय संकटमा छ । जंगलको सुनसान सुन्दर र स्वच्छ वातावरणमा हुर्किएको यो समुदाय त्यो संसार छोडेर लोभलालचको संसारमा पुगेको छ । यो समुदाय स्वार्थी संसारमा पाइला टेकेको छ ।
उनीहरूले त्यो संसार छोडेर क्रमश सरकारले गरेको पहल र नागरिकको बढ्दो चेतनाले गर्दा उनीहरू समाजको निकट बस्दै आउन थालेका छन् । समाजसँग साइनो गाँस्न पुगे । समाजमा घुलमिल हुन नजिक सरे । नजिकको समाजसँग साइनो लगाउदै नजिक फिर्दै गर्दा उनीहरूको जीवनमा सकारात्मक परिर्वतन मात्र आएन । सकारात्मक परिर्वतन भन्दा नकारात्मक परिर्वतन बढी हाबी भयो ।
समाजको नजिक सर्दा उनीहरूको घरधुरी र पारिवारिक संख्या समाजका अन्य आम मान्छेजस्तै बढ्ने ठाउँमा उनीहरूको संख्या घट्दै गइरहेको छ । २०६८ को जनगणना तथ्यांकअनुसार नेपालमा जम्मा ६१८ जना संख्यामा राउटेको बसोबास थियो । तर विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन भने जम्मा राउटेहरूको सङ्ख्या १४३ मा खुम्चिएको छ । विगतमा स्वास्थ्यका हिसाबले बलिया र फुर्तिला देखिने राउटे पछिल्लो समय कमजोर र रोगी बन्दै गइरहेका छन् ।
जंगलबाट नजिकको समाज नजिकै बस्दा सकारात्मक कुरा सिक्ने ठाउँमा नकरात्मक कुरामा बढी जोड दिन थालेका छन् । जस्दे गर्दा उनीहरूको संख्या दिनहुँ घट्दो अवस्थामा पुगेको छ । उबेलाका हड्डाकठ्ठा बलिया राउटे पैसा र मदिराको लतले दिनहुँ कमजोर हुँदै गएका छन् । आधुनिकतामा होम्मिएसँगै उनीहरूको मृत्युदर बढ्दै गएको छ भने उनीहरूको पेशा नै संकटमा पर्न थालेको । पहिले राउटे गाउँमा पुग्दा सबैजना रमाइलो मान्थे। अहिले खिसिट्युरि गर्छन ।
दुई–तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यहाँको क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले उनीहरूको अवस्था नै फेरिएको छ । दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता संकटोन्मुख अवस्थामा छ । यो समुदाय केही दिन अघि मात्र बसाइ सरेर नारायण नगरपालिका ९ लोहोरेको खोला छेउमा बसेका छन् ।
भत्ता पाएपछि परनिर्भर राउटे
आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय जंगलको राजा हो । राउटे समुदायका नागरिकले गरेको दुःख देखेर उनीहरूको जीविकोपार्जनमा टेवा पुगोस भन्दै सरकारले २०६४–०६५ सालमा भत्ता उपलब्ध गराएको थियो । जंगल फडानी रोक्न र उननीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भन्नका लागि वितरण गरिएको भत्ता उनीहरूकै लागि अभिश्राप भएको छ । पहिले जंंगलमा घुमन्ते जीवन बिताउदै काठ बाट बनेका भाडाकुडा नजिकको गाउँमा लिएर बेचेर गुजारा चलाउथ्ये ।
जंगल फडानी रोक्न र उनीहरूको जीवन यापनि सहजताको लागि सुरुमा पाँचसय भत्ता दिइएको राउटेका महामुखिया महिनबहादुर शाही बताउँछन् । ‘सहरको सरकारले राम्रो गरेको छ । नराम्रो गर्याउ छैन । हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ उनले भने, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ । हामीलाई धेरै धेरै काम पनि गर्नुपर्दैन भन्या छ ।’ आफूहरू जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरूलाई खुसी लागेको उनी बताउँछन् ।
राउटे समुदायका नागरिकलाई सरकारले २०६४–०६५ सालदेखि एक जना बराबर मासिक ५०० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो । एक वर्षपछि ५०० बाट वृद्धि भएर एक हजार भएको थियो । २०७५–०७६ मा वृद्धि भएर दुई हजार पुग्यो भने २०७६ सालबाट ३ हजार र २०७७ बाट वृद्धि भएर चार हजार भत्ता पुगेको राउटे समुदायमा जोडिएर शिक्षकका रुपमा २०७५ बाट सोसेकबाट खटिएका लालबहादुर खत्रीले बताए ।
तत्कालीन समयमा भत्ताका रुपमा मासिक भत्ता बुझ्न थालेपछि उनीहरूले अर्थमन्त्रीलाई ‘पैसा मन्त्री’का रुपमा बुझ्न थालेका थिए । त्यो बेलादेखि नै उनीहरूले बुझिसकेका थिए हामीले केही नगरे पनि हुन्छ अब हामीसँग पैसा छाप्ने अर्थमन्त्री भेटिसक्यौँ भनेर उनीहरूलाई लाग्थ्यो, ‘पैसा मन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्री बाँड्छ ।’ मासिक भत्ता पाउन थालेपछि जंगलबाट उनीहरू २०६६ सालमा पहिलो पटक बालुवाटार छिरेका थिए ।
तत्कालीन समयमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालीन राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री बाबुराम भट्टराई लगायतलाई भेटेर हातले बनाएको काठको सामाग्री उपहार दिएका थिए । पहिले पहिले नयाँ मान्छेलाई आफ्नो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन् । कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरू अचेल हिँड्दा हिँड्दै पैसा माग्ने अवस्थामा पुगेका छन् ।
राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सी लगायत कुलतबारे थाहै नपाएको तर, पछिल्लो समय समाजको नजिक बस्दा र सहरका मान्छे जान थालेपछि राउटे समुदायमा मदिराको लतले सिंगो समुदाय नै विग्रदै गएको महामुखिया शाही बताउँछन् । हाम्रो समुदायका मान्छेले यसरी खादैन थियौँ,’ उनले भने, ‘पहिले हामी जहाँ बस्यौँ त्यहीको समाजले र जनताले सिकायो । खत्तम हुन्छ भनेनन् । सहर र गाउँले पहिले खान सिकायो ।’
‘खान सिकियापछि त खाइयो । अहिले छोड्न मुस्किल भएको छ । पैसा नहुँदा छट्पटी हुन्छ पैसो आयो भने खान मन लागिहाल्छ । त्यस्ले गर्दा पनि हाम्रो समुदायमा ठुलो असर गरेको छ ।’ जंगलबाट गाउँबस्तिको नजिक भएपछि पहिले भन्दा परिर्वतन भएको अर्का मुखिया सुर्यनारायण शाहीले बताए । समाजको नजिक सर्दा हामीले रक्सि खान मा सिकेनौँ,’ उनले भने, ‘पहिले जुत्ता लगाउँदैनथियो । अहिले लाउन सिक्याँ । सबै सहरले सिकायो त ।’
पहिले आफुहरू जंगलमा रहेर पनि आत्मनिर्भर रहेको तर, सरकारले मासिक भत्ता दिन थालेपछि आफुहरू परनिर्भर हुनुका साथै अल्छि भएको मुखिया शाहीले स्वीकारे । तपाई अल्छि हुनुभयो ? मदिरा पनि उत्तिकै पिउनुहुन्छ ? अब सरकारले तपाईहरूलाई मासिक भत्ता नदिने निर्णय गरेपछि के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मुखिया सुर्यनारायण शाहीले भने, ‘अब के गर्नु मासिक भत्ता हटाए उही पुरानै काठका भाडा बनाएर गाउँमा बेचेर परिवार पाल्छौँ ।’
रक्सी भनेको पहिले राउटेलाई थाहा नभएको र खाएपछि मरिन्छ भन्ने लागेकै बेला ‘सहरका मान्छे’ले खान सिकाएको शाहीले बताए । ‘कोही मान्छ पापी रैछ । यो लिच्ची (रक्सी) खाएपछि केही हुँदैन भनेर खान सिकायो । अहिले त हामीले बोइलर पनि खान थाल्यौं,’ मुखिया सुर्यनारायण शाहीले भने,, ‘सबै सिक्दैछौं । एक दिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे ?’ पहिले आफलैले जाड राखेर खाने परम्परा थियो त्यो पनि चाडपर्वमा मात्र खान्थे ।
अघिपछि जंगलमै काठका भाडाकुडा बनाउन व्यस्त रहनथ्यो । तर, पछिल्लो समय उनीहरू काठको भाडा पनि बनाउन जागर लगाउदैनन् । फुर्सदिला भएका कारण पनि राउटेमा रक्सिमोह बढेको जोडी शिक्षक खत्री बताउछन् । पहिले कमै पिउने उनीहरूले मासिक एक हजार भत्ता आउन थालेदेखि रक्सी खान सुरु गरेका थिए । उनले भने, ‘अहिले नखाउ भने पनि मान्दैनन् । उल्टै रक्सी उत्पादन गर्ने कम्पनी बन्द गर त्यसपछि खान छोड्छौँ भन्छन् ।’
जितेन्द्र थापा । सुर्खेत