दादुरा फैलिएको बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका झण्डै १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
हिजोसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।
बाँकीलाई अबको तीन/चार दिनभित्र खोप दिइनेछ । खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ ।
बाँकेलाई दुई वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । तर गएको पुस १३ गतेयता नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गरी १ सय ३० जनामा सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ ।
बाँकेको खजुरा गाउँपालिकामा पनि २ जनामा दादुरा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामध्ये ६० जना उपचारमा छन् भने अरु निको भइसकेका छन् ।
खोप अभियान प्रभावकारी बनाउन र सङ्क्रमण रोकथाम गर्न नेपालगञ्ज उपमहानगरमा आउँदो मङ्गलवारसम्मका लागि विद्यालय बन्द गरिएको छ। आवश्यकता अनुसार विद्यालय थप एक हप्ता बन्द गर्ने तयारी रहेको पनि प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जका वडा नम्बर १, ९, १०, ११, १४, १५ र २२ मा दादुराको सङ्क्रमण फैलिएको छ । परीक्षण, चेतनामूलक कार्यक्रम, बिरामीको थप खोजी र खोप अभियान तीव्र पारिएको उहाँको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गर्दै आएको छ । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको नियमित खोप लगाउन आग्रह गर्नुभयो ।
यो खोप सरकारले निःशुल्क दिँदै आएको छ । बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ ।
तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताउनुभयो ।
उहाँका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ ।
सत्यपाटी संवाददाता । बाँके