सूचनाको शक्ति - The Power Of Information

        

फैलिँदै दादुरा संक्रमण

दादुरा संक्रमण बढेपछि नेपालगन्जमा विद्यालय बन्द

नेपालगन्जमा फैलिएको दादुरा महामारी जिल्लाका अन्य पालिकामा फैलिन थालेपछि नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको छ ।

दादुराका विरामीहरुको तथ्यांक संकलनमा खटिएका स्वास्थ्यकर्मी ।

नेपालगन्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगन्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन् । उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निर्णय गरेको हो ।

हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले यस उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म सार्वजनिक दिन उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पुसको दोस्रो हप्तादेखि नेपालगन्जमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । उपमहानगरपालिकाको वडा नं ५ मा पुस १३ गतेदेखि दादुराका पहिलो बिरामी देखिएका थिए । वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण हाल नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा फैलिसकेको छ भने संक्रमित बालबालिकाको संख्या १०० जनाभन्दा बढी पुगिसकेको छ ।

हाल नेपालगन्ज उपमहानगरपालीका, प्रदेश सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र संघस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरु केही दिनयता दादुरा फैलिएको स्थानीय तहमा पुगेर संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ । नेपालगन्जमा फैलिएको दादुरा महामारी जिल्लाका अन्य पालिकामा फैलिन थालेपछि नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको छ ।

स्वास्थ्य कार्यालयका अधिकृत एवं खोप फोकल पर्सन नरेश श्रेष्ठले दादुरा फैलिएपछि खोप अभियानलाई तीव्र पारिएको जानकारी दिए । कार्यालयका अनुसार दादुरा देखिएका बालबालिकालाई स्वास्थ्यकर्मीकै निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । दादुरा देखिएका स्थानका ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १२:३२