सूचनाको शक्ति - The Power Of Information

        

रेशम चौधरीले निर्णय दिन नसक्दा सुदूरपश्चिममा अन्योल

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय अब केही घण्टा मात्र बाँकी छ । तर, अझै नागरिक उन्मुक्ति पार्टीले निर्णय दिन सकेको छैन । प्रदेश प्रमुखले साँझ ५ बजेसम्ममा मुख्यमन्त्री दावी पेश गर्न समय दिएको हो ।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा लिएर नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । तर, मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने कि नगर्ने भन्ने नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले निर्णय नदिएका कारण प्रदेशसभा सदस्यहरु मौन छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले प्रदेश सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहेको बताएका छन् । सत्ता साझेदार दलहरुबीचमा भएको सहमतिअनुसार सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने तयारी छ ।

यदि नागरिक उन्मुक्ति पार्टीले एमालेसहितको गठबन्धनलाई सहयोग गरेमा रावल आजै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । यता डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे लिखित सम्झौता गरेर मात्र सरकारमा सहभागी हुने बताएका छन् ।

उनले बुधबार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका हुन् । डिल्लीबजार कारागारमा बधुबार केही सांसद र आफूनिकटका नेतासँग रेशमले उक्त कुरा बताएका हुन् । लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ, नभए गठबन्धन अर्को हुने बैठकमा सहभागी एक नेताले बताएका छन् । सुदूरपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १४:२९