नेपालमा जननिर्वाचित प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्रीहरूले १५ पटक ‘विश्वासको मत’ र ‘अविश्वासको प्रस्ताव’ सामना गरेका छन् ।
जसमध्ये ११ पटक प्रधानमन्त्रीलाई सफलता मिलेको छ भने चारपटक असफलता । ‘विश्वासको मत’ लिने क्रममा कहिलेकाहीं असंसदीय राजनीतिक घटनाक्रम पनि भएका छन् ।
नेपालको संसदीय इतिहासमा पहिलो आमनिर्वाचन २०१५ सालमा भएको थियो । जसमा नेपाली कांग्रेसले दुई तिहाइ सिट जितेपछि एकमना सरकारको प्रधानमन्त्री बनेका बिपी कोइरालाले संसद्बाट विश्वासको मत लिनुपरेन । त्यसपछि २०४६ सालको परिवर्तनपछि निर्वाचित पहिलो संसद्मा पनि कांग्रेसको एकल बहुमत आयो ।
नेपाल अधिराज्यको संविधान २०४७ को धारा (१) अनुसार बहुमत प्राप्त दलको नेताको हैसियतले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । संविधानको व्यवस्थाअनुसार उनले संसद्मा विश्वासको मत मागिराख्नुपर्ने बाध्यकारी व्यवस्था थिएन ।
नेपाली संसद्मा विश्वासको मत माग्ने पहिलो प्रधानमन्त्री मनमोहन अधिकारी हुन् । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण तत्कालीन प्रधानमन्त्री कोइरालाले २०५१ असार २६ गते प्रतिनिधिसभा विघटन गरेर २०५१ कात्तिक २९ गते मध्यावधि चुनाव गराएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ