सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन विदा दिने भएको छ । गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ । सोमबार गृह मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनीक विदा दिने निर्णय गरेको र सोही निर्णय अनुसार सार्वजनिक बिदाको सूचना निकालिएको हो ।
सत्ता गठबन्धनले तयार गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख गरेको थियो । त्यसैलाई शीर्ष नेताहरूले आधिकारिकता दिएपछि मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले गत शुक्रबार सार्वजनिक गरेको मस्यौदाको पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने’ उल्लेख छ ।
सत्तारुढ गठबन्धनमा रहेको राप्रपाले सरकारमा जान राखेको शर्तमध्ये ‘पृथ्वी जयन्तीमा विदा दिनुपर्ने’ पनि उल्लेख थियो । मुलुकमा राजतन्त्र छँदा पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिने गरिएको थियो ।
राजतन्त्र ढलेसँगै बिदा कटौती गरिएको थियो । यस बिचमा २०७४ सालमा पृथ्वी जयन्तीका दिन राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री रहेका वेला तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको पहलमा बिदा दिइएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं