नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी ओलीले आफ्नो पार्टी एमालेको समर्थनमा रहेको दाहाल नेतृत्वको सरकार ढल्छ कि भन्ने आशंका नगरी विश्वासको मत पाउनेमा ढुक्क रहन आग्रह गरे ।
दाहालको समर्थनमा एमाले रहेको जिकिर गर्दै ओलीले आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले नीति बनाउने पनि बताए ।
त्यसलाई दाहाल नेतृत्वको सरकारले कार्यान्वयनमा लैजाने ओलीले संसद्को बैठकमा रेकर्ड गराएका छन् । त्यसले के दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् भन्ने प्रश्न उब्जाएको छ ।
कम्युनिस्ट मुलुकमा जस्तै नीति र कार्यक्रम पार्टीहरूले बनाउने र कार्यान्वयन मात्र सरकारले लैजाने अभ्यास गर्न लागिएको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । बिनाप्रसंग ओलीले आफू नेतृत्वको समितिलाई संसद्को बैठकमा प्रवेश किन गराउन चाहे ?
सत्यपाटी संवाददाता । काठमाडौँ