सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा फैलिँदै दादुरा महामारी

नेपालगन्जपछि जिल्लाभर फैलिँदै दादुरा, दिनहुँ बढ्दैछन् संक्रमित

नेपालगन्जका ६२ र खजुराका एक बालकसहित ६३ जना बालबालिकामा दादुरा पुष्टि भएको छ ।

दादुराका विरामीहरुको तथ्यांक संकलनमा खटिएका स्वास्थ्यकर्मी ।

नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा महामारी अब जिल्लाका अन्य पालिकामा पनि फैलिन थालेको छ । नेपालगन्जपछि खजुरा गाउँपालिकाका बालबालिकामा दादुरा देखा परेको छ । हालसम्म ६३ जना बालबालिकामा दादुरा पुष्टि भएको र सो रोगबाट नेपालगन्ज–५ का एक बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

एक साताअघि नेपालगन्ज–७ का चार जना बालबालिकामा देखिएको दादुरा अहिले नगरका विभिन्न वडामा फैलिएपछि ६२ र खजुराका एक बालकसहित ६३ जना बालबालिकामा दादुरा पुष्टि भएको छ । नेपालगन्ज, खजुरा र कोहलपुर लगायतका क्षेत्रमा धेरै बालबालिकालाई ज्वरो आउने तथा शरीरमा बिमिरा निस्कने लक्षण देखिएकाले दादुरा प्रभावितको सङ्ख्या बढ्ने आशङ्का गरिएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले बताए ।

दादुरा तीव्र गतिमा फैलिरहेको पाइएको जनाउँदै उनले नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको बताए । खोप फोकल पर्सनसमेत रहेका अधिकृत श्रेष्ठले दादुरा फैलिएको नेपालगन्ज–५, ७ र ८ मा खोप अभियानलाई तीव्र पारिएको जानकारी दिए । दुई दिनमा ती वडाका एक हजार ३०० सयभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको छ ।

दादुरा देखिएका अन्य वडा र अन्य पालिकामा समेत खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दादुरा देखिएका ६२ जना बालबालिकालाई स्वास्थ्यकर्मीकै निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । तीमध्ये अधिकांशको स्वास्थ्यमा सुधार भइरहेको छ । उपमहानगरभित्रका ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।

नेपालगन्ज उपमहानगरको स्वास्थ्य शाखाका अनुसार नगरका विभिन्न वडामा स्वास्थ्यकर्मी परिचालन गरेर शङ्कास्पद बिरामीको खोजी गर्ने, परीक्षण तथा परामर्श दिने कार्य निरन्तर जारी रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १० वटा वडामा दादुरा फैलिएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १०:२७