कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिचवाकी बरफी रानाको सात महिनानै नपुगी जन्मिएको छोरा अपांग भएपछि घर परिवारदेखि गाउँमा कुरा काट्ने धेरै थिए । जन्मिदैदेखि हातखुट्टा शरीरका केही भाग पनि नचल्ने भएपछि छोराको उपचारका लागि उनले गाउँका धामीझाँक्रीदेखि आर्थिक अवस्थाले भ्याएसम्म चिकित्सकलाई समेत देखाए ।
तर उनका छोरा शिवपूजन निको हुने कुनै उपाय कसैले जुराउन सकेनन् । आर्थिक अवस्था निकै कमजोर भएकाले महँगो उपचार गराउने उनको परिवारमा क्षमता थिएन । चार सन्तानको लालनपालन गर्न दुई कट्ठा जग्गामा घरबास भएका रानाका श्रीमान्ले गाँउकै इँटाभट्टामा काम गरेर परिवारको दैनिक साँझ बिहानको छाक टार्न निकै चुनौतीको सामना गर्नुपरेको छ ।
एकजनाले शिवपूजनको हेरचाहमै दिन बताउनुपर्ने बाध्यता पनि राना परिवारमा रहेको छ । अपांगताको अधिकार र गाउँपालिकाबाट पाउने सेवा सुविधाका बारे समूहमा छलफल हुँदा जानकारी पाएपछि बरफीले भनिन्, ‘परिचयपत्र बनाउन दुईपटक जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म पुगेँ, तर कर्मचारी नभेट्दा परिचयपत्र बनेन, निराश हुँदै घर फर्कनु प¥यो, तर पनि हिम्मत हारिन ।’
गाउँपालिकामै समूहमै छलफलका क्रममा अपांगता परिचयपत्र दिने टोली गाउँपालिकामा पुगेको कुरा सुनेपछि गाउँपालिका पुगेर निवेदन दिएको बताउँदै उनले भनिन्, ‘निवेदन दिएको केही घण्टामै रातो परिचयपत्र प्राप्त भयो, हर्षका आँशु थाम्नै सकिनँ ।’
आर्थिक अवस्था निकै नाजुक रहेका राना परिवारले छोराको परिचयपत्र पाउँदा खुशीको आँशुमात्रै झार्नु भएन, मुहारमा खुशी छर्दै छरछिमेक र गाँउमा समेत शिवपूजनले पाएको परिचयपत्रका बारे बताएर खुशियाली साटासाट गर्न पछि परिनन् । परिचयपत्र पाएपछि पाउने भत्ताको रकमले शिवपूजनको उपचारसँगै परिवारको खर्च चलाउनेमा उनी ढुक्क देखिएकी छन् ।
अरु अपांगता भएकालाई समेत उहाँले हिम्मत दिँदै पछि नपर्न सल्लाह दिन्छिन् । गाउँकै समूहमा संगठित नभएको भए परिचयपत्र पाउनेबारे जानकारी नै हुँदैनथ्यो, उनी बताउँछिन् । संस्थाले आँखा खोलिदिएपछि परिचय पाउन सकेकोमा उनी गौरवान्वित भएको महसुस गर्छिन् । रासस
।