सूचनाको शक्ति - The Power Of Information

        

सङ्घीय संसद्को अधिवेशन

निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै

सभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो अधिवेशन र राष्ट्रिय सभाको नियमित १३ औं अधिवेशन सुरु हुनेछ ।

दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधि सभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन् । बैठकको प्रारम्भमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यलाई स्वागत गर्नेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा .(माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

प्रतिनिधि सभा बैठक हाल कायम प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ ।

बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ ।

सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई/दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ । सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउने छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधि सभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ ।

सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् । उनले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०८:१३