सूचनाको शक्ति - The Power Of Information

        

चिसो बढेपछि नेपालगन्ज र डुडुवाका शैक्षिक संस्था बन्द

अत्याधिक चिसो बढेपछि बाँके नेपालगन्ज र डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि आज आईतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द भएको हो ।

गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए ।

शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाएका छन् । यसबिचमा सामुदायिक विद्यालयहरुमा सञ्चालित परीक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परीक्षा विद्यालय खुलेपछि पुर्ववत अनुसार सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालय पनि बन्द भएका छन् । २४–२८ पुससम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

उनले १–३ सम्मको कक्षा २८ पुससम्म र त्यसभन्दा माथिका कक्षा पुस २७ सम्म बन्द गरिएको बताए ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार १७:४०