प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘वान टु वान’ भेट गरेका छन् । पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन् ।
पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको कुरा भने गोप्य राखिएको छ । पूर्वराजाले दुई दिन लगाएर राप्रपाका केही सांसदहरुलाई चितवनमा र अन्य सांसदहरुलाई बाराको सिमरामा भेटेको राप्रपा निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपाको समेत समर्थनमा प्रधानमन्त्री नियुक्त भएकोले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । राप्रपा महामन्त्री डा.धवलसमशेर राणाले सरकारमा सहभागिताबारे आफूहरुले पूर्वराजालाई जानकारी गराउन आफू र अध्यक्ष राजेन्द्र लिङ्देनले सिमरा पुगेर भेट गरेको बताए ।
‘एक हप्ता अगाडि अध्यक्षज्यू र म सिमरा पुगेर सरकारमा सहभागिताका विषयमा महाराजधिराज (पूर्वराजा)लाई अपडेट गराएका हौं,’ महामन्त्री डा.राणाले भने, ‘१४ जना सांसदले नै भेटेको भन्ने कुरा मलाई जानकारी छैन ।’ उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य केही नेताले पनि पूर्वराजासँग भेटेको जनाए ।
पूर्वराजाको राप्रपा अध्यक्षसहित सांसदहरुसँग छुट्टाछुट्टै भेट र यही बीचमा परिवर्तिन राजनैतिक कोर्सलाई हेर्दा नेपाली राजनीतिको दिशा प्रभावित हुन सक्ने र यसमा पूर्वराजाको प्रभाव रहन सक्ने समेत आंकलन गरिएको छ । राप्रपाले विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डको यसअघि स्थापित छविमा समेत परिवर्तन देखिएको छ ।
राप्रपासहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे । यसअघि प्रधानमन्त्री प्रचण्ड सार्वजनिक रुपमा दौरा सुरुवाल लगाउँदैनथे । राप्रपाकै एजेण्डाअनुसार प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्ति मनाउने र त्यो दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।
अर्कोतर्फ राप्रपाले सुरुमा सरकारलाई समर्थन गर्ने निर्णय गरेको भए पनि सरकारमा सहभागी नहुने बताएको थियो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा समेत राप्रपा पहिले सकारात्मक थिएन । तर, पूर्वराजा र राप्रपा अध्यक्ष लिङदेनको भेटपछि अचानक राप्रपा विश्वासको मत दिन तयार हुनुले प्रचण्डमाथि पूर्वराजाको केही प्रभाव रहेको र प्रचण्डसमेत राप्रपामार्फत पूर्वराजाका केही चाहनाहरुमा सकारात्मक रहेको अनुमान छ ।
सत्यपाटी संवाददाता । काठमाडौं