इरानले विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै दुई जनालाई मृत्युदण्ड दिएको छ ।
मोहम्मद महादी करामी र मोहम्मद हुसैनीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । इस्लामिक ड्रेसकोड पालना नगरेको आरोपमा पक्राउ परेकी युवतीको हिरासतमा मृत्यु भएपछि भड्किएको विरोधको ४०औं दिनमा अर्धसैनिक बलका रुहोल्लाह अजमैनको हत्या भएको घटनामा उनीहरुलाई दोषी ठहर गरिएको थियो ।
इरानको सर्वोच्च अदालतले समेत उनीहरुलाई दोषी ठहर गरेपछि शनिबार बिहानै दुई जना युवालाई झुण्ड्याइएको हो । गत नोभेम्बर ३ मा राजधानी तेहरान नजिकै सडक अवरुद्ध गरेर भईरहेको प्रदर्शनमा अजमैनको हत्या भएको थियो । करामीले अजमैनमाथि रडले प्रहार गरेको र हुसैनीले थुप्रै पटक छुरा हानेको स्वीकारेको दावी अदालतको फैसलामा गरिएको छ ।
तर उनीहरुले चर्को यातनाका कारण त्यस्तो अभियोग स्वीकार्नु परेको भन्दै पुनरावेदन गरेका समेत गरेका थिए । प्रदर्शनमा संलग्नहरुमाथि कारबाही चलाउने क्रममा अहिलेसम्म ४ जनालाई मृत्युदण्ड दिइसकेको छ । साथै सयौं जना विरुद्ध मुद्दा चलिरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ