सूचनाको शक्ति - The Power Of Information

        

चिसो बढेपछि बन्द भए नेपालगन्जका विद्यालय

तराईमा अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता यहाँ अत्यधिक चिसो बढेपछि उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको हो ।

अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार अत्याधिक चिसो बढेपछि नगर शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरभित्रका विद्यालय पुस २४ गतेदेखि २६ गतेसम्म बन्द हुने शाखाले जनाएको छ । अत्यधिक चिसो बढेपछि जिल्लाका अरु पालिकाले पनि विद्यालय बन्द गरेका छन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि विद्यालय बन्द गरिएको हो ।

चिसोले गर्दा विद्यार्थी आउन पनि छाडेपछि विद्यालय बन्द गर्नुपरेको शिक्षकहरुले बताएका छन् । एक सातायता नेपालगन्जमा चिसो बढेको छ । शितलहर चलेको पनि छ । नेपालगन्ज लगायत केही पालिकाले स्थानीयलाई दाउरा वितरण गरिरहेका छन् ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १६:४२