सूचनाको शक्ति - The Power Of Information

        

मध्यपहाडी लोकमार्ग भासियो, दुर्घटनाको जोखिम

मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको ठाउँ ठाउँमा समेत भासिएको छ । कमजोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीको भनाइ छ । रुकुमपश्चिम खण्डको मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए ।

सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र हरेक वर्ष सडक भासिँदै गएको उनले बताए । सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी रहेको उनको भनाइ छ । हरेक वर्ष एक दुई मिटर गहिरो भएर सडक भासिने स्थानीय बताउँछन् । उक्त क्षेत्रमा रहेको पानीको मुहानको दीर्घकालीन प्रभाव जाँच गरेर हाल सञ्चालन भइरहेको भन्दा भित्री भूभागबाट सडक खोलिएमा दिगो हुने उनीहरूको भनाइ छ ।

सवारी चालक राम विकले भासिएको सडकखण्डमा गाडी पार गराउन मुस्किल हुनुका साथै भासिएको भूभागमा गाडी वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको बताए । मोटरसाइकल, जिप, हाइस र अन्य साना गाडी उक्त स्थानमा ठोक्किने गरेका छन् । अत्यन्त सावधानीपूर्वक उक्त ठाउँमा गाडी आवतजावत गराउनुपरेको चालक विकले बताए । भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उनको माग छ ।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालका लागि गिट्टी हालेर भए पनि सडक मर्मत गर्न निर्देशन दिएको बताए । भासिएको सडकखण्डको भू–भाग मुनि पानीको मुहान रहेको विषयमा स्थलगत अध्ययन गरेर निष्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले उल्लेख गरे ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १५:०९