सूचनाको शक्ति - The Power Of Information

        

‘धर्तीको स्वर्ग’ रारामा पर्यटकको घुईंचो


दीपक उपाध्याय/मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ । राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा बाहृय पर्यटकको संख्यामा वर्षै्पिच्छे बढ्दो क्रममा छ ।
रारामा पुग्ने आन्तरिक पर्यटकलाई हेर्दा लाग्छ भ्रमण चेतनामा नेपालीहरु माथि पुगिसका छन् । गाडी, मोटराईकल र प्लेन चार्टर गरेर अहिले पर्यटकहरु रारा पुग्ने गरेका छन् । हिमाली राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकहरुलाई प्रबेश निशुल्क गरिएका कारण कति जना रारा घुम्न आए भन्ने एकिन डाटा नभएपनि होटेलबाट लिएको जानकारीको आधारका दैनिक करिब २ सयको हाराहारीमा स्वदेशी पर्यटकहरु रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्र शेखर चौधरीले बताए । राराताल नजिकै रहेको डाँफे गेष्ट हाउस र भिलेज हेरिटेज एण्ड रिसोर्ट यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छन् ।
होटलमा भएको कोठा अपुग भएपछि होटेलले बाहिर टेण्टको व्यवस्था गरेको छ । भिलेज हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दीपक रावतले यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताए । उनले विदेशी पर्यटकहरु पहिला नै होटेल बुकिङ गरेर आउने गरेका कारण समस्या नभएपनि आन्तरिक पर्यटकहरु यहाँ आएपछि मात्रै होटल खोज्ने गरेका कारण उनिहरुलाई व्यवस्थान गर्न समस्या हुने गरेको बताए । रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले अघिल्ला वर्षहरुमा आन्तरिक र विदेशी पर्यटक बाषिर्क दुईसय जनासम्म आउने गरेकोमा यो वर्ष दशै सकिएलगत्तै दैनिक एकसयदेखि दुईसयसम्म आन्तरिक र विदेशी पर्यटक आउने गरेको बताए ।
उनले अघिल्लो वर्ष विदेशी १२४, सार्क मुलुकबाट ३ जना र करिब सय जना आन्तरिक पर्यटकहरु रारा घुम्न आएको बताए । साथीहरुले फेसबुकमा राराको तस्विर राखेर प्रचारप्रसार गरेका कारण यहाँ घुम्न आएको चितवनबाट गाडीमा आएका रामहरि खनालले बताए । उनले रारा पुग्ने बाटो अप्ठ्यारो भएपनि यहाँपुगेपछि भने स्वर्गको आनन्द महशुस भएको बताए । त्यस्तै साथीभाईहरुसँग मोटरसाईकलमा रारा घुम्न आएका कञ्चनपुरका राजेन्द्र पन्तले रारामा सोचेको भन्दा राम्रो व्यवस्थापन रहेको बताए । उनले मोटरसाईकलमा आउँदा केहि प्राविधक समस्याहरु आएपनि रारा पुगेपछि सबै विर्सेको बताए । रारा घुम्न चितवन वा कञ्चनपुरबाट मात्रै होईन पोखरा, काठमाडौं, नेपालगन्ज लगायत शहरबाट पनि थुप्रै पर्यटकहरु पुगेका छन् ।

कसरी पुग्ने रारा ?

हवाई मार्गबाट जाँदा नेपालगञ्ज बिमानस्थलबाट मुगुको ताल्चा बिमानस्थल पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टा हिँडेपछि रारा पुग्न सकिन्छ । हिड्न नसक्नेहरुका लागि घोडाको पनि व्यवस्था छ । घोडाका लागि एक जनाको १५ सय शुल्क तिर्नुपर्छ । आफ्नै अथवा भाडामा गाडी लिएर जाने हो भने कोहलपुरबाट सुर्खेत हँुदै कालिकोट र त्यहाँबाट रारा पुग्न दुईदिन समय लाग्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार १०:३१