सूचनाको शक्ति - The Power Of Information

        

शीतलहरका कारण हृदयाघात हुँदा उत्तर प्रदेशमा एकैदिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सिर्जित चिसोले एकैदिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ ।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्यांकानुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए ।

तीमध्ये अस्पतालमा सातजनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो । अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताएका छन् ।

‘कानपुरमा व्यापक शीतलहर बढेको छ, जसका कारण हृदयरोगबाट पीडित मानिसको संख्या ह्वात्तै बढेको छ,’ एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् । कानपुरका स्वास्थ्यविज्ञले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन् । उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।

स्रोत : रासस/सिन्ह्वा
प्रकाशित मिति : २३ पुष २०७९, शनिबार ०८:१६