तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ ।
सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ । महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु र कुहिरो लाग्दै आएको छ । आज पनि बिहानदेखि तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर चलेको छ ।
केही वर्षयता तराईमा विगतका वर्षभन्दा अत्यधिक जाडो बढेर गएको छ । एक सातादेखि तराईलाई शीतलहरले ढाकेको छ । चिसोका कारण मजदुरहरु काममा जान पाएका छैनन् । विद्यालयहरु बन्द गरिएका छन् । हवाई तथा स्थल यातायात प्रभावित बनेका छन् । तराईबासीसँग जाडो कहिले जाला भनेर कुर्ने बाहेक अर्को विकल्प छैन ।
शीतलहरकै कारण नेपालमा हरेक वर्ष करिब ४२ जनाको मृत्यु हुने गरेको अनुमान छ । मृत्युका यस्ता घटनाहरुको प्रारम्भीक अभिलेख गृह मन्त्रालयले राख्ने हुँदा कतिपय कारण स्वास्थ्य मन्त्रालयसम्म पुग्दैनन् । अझ नागरिकलाई प्राकृतिक प्रकोपका कारण हुने मृत्युलाई पनि पोष्टमार्टम गर्नुपर्छ भन्ने ज्ञान नहुँदा वा झण्झट मानिदिँदा शीतलहरका कारण हुने धेरै मृत्युका घटना जानकारीमै आउँदैनन् ।
गरीब नै बढी मारमा
बाक्लो हुस्सु र कुहिरो तथा शीतलहरका कारण गरिब र पिछडिएको समुदाय मारमा परेको छ । यो समुदायलाई जाडो भगाउने एक मात्र उपाय भनेको आगो ताप्नु हो । आगो ताप्नका लागि तराईमा दाउरा लगायतका साधनको पनि अभाव देखिएको छ । जाडो धेरै बढेपछि नागरिकहरु बाहिर मजदुरी गर्न जान सक्दैनन् ।
हुस्सु र कुहिरोले गर्दा घरबाट निस्किन सक्ने अवस्था नै हुँदैन । हप्ता दिनसम्म घाम झुल्किएको छैन । तराई क्षेत्रका सबैजसो मानिसहरु घरभित्रै आगो तापेर बसिरहेका छन् । धुवाँको वरिपरि लामो समयसम्म झुम्मिरहँदा महिला तथा बालबालिकाको स्वास्थ्यमा यसले असर पुर्याइरहेको छ । आगोले धेरैको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ ।
आगोले विशेषगरी महिला, भर्खरै जन्मेका शिशु र वृद्धवृद्धाहरुमा दमको समस्या बढाएको छ । अत्याधिक चिसो मौसमका कारणले बालबालिका, वृद्घवृद्घा तथा गर्भवती महिलाहरु उच्च जोखिममा हुन्छन् । उनीहरु झाडापखाला, रुघाखोकी, ज्वरो र निमोनिया जस्ता रोगहरुबाट ग्रसित हुन थालेको चिकित्सकहरु बताउँछन् ।
नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक डा.संकेतकुमार रिसालले बालबालिकाहरु विशेषतः रुघाखोकी, निमोनिया, झाडापखाला र छालासम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना हुने गरेको बताए । वृद्धवृद्धा वृद्धवृद्धा भने धेरैजसो श्वासप्रश्वास एवं हाइपोथर्मिया अर्थात शरीरको ताप निकै कम हुने समस्याका कारण भर्ना हुने गरेका छन् ।
उनले चिसो बढेसँगै भेरी अस्पतालमा चिसोका विरामीहरु आउने क्रम दिनानुदिन बढ्दै गएकोले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे । मौसम अत्यधिक चिसो भएकाले बालबालिकालाई बढी हेरचाह गर्न र चिसोबाट जोगाउन न्यानो लुुगा र आगो लगायत हिटरमा आफ्ना बालबालिकालाई राख्न आग्रह गरिएको छ ।
यहाँका अस्पतालहरुमा निमोनिया, ‘कोल्ड डायरिया’ र रुघाखोकी लागेका बालबालिका र ज्येष्ठ नागरिकहरुको भीड लागेको छ । शीतलहरका कारण नागरिकहरुको आवतजावत तथा दैनिकीमा पनि असर पुगेको छ । नेपालको आधा जनसंख्या बसोबास गर्ने तराई क्षेत्र नै शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुने गरेको छ ।
शीतलहरले नेपालका पश्चिम, मध्य र पूर्वी तराईका २२ जिल्ला सबैभन्दा बढी जोखिमयुक्त छन् । सरकारले कम्बल र दाउरा बाँड्नका लागि बजेट छुट्याए पनि प्रकोपका बेला पीडितसम्म पुगेको कहीँ कतै सुनिँदैन । शीतलहरका कारण तराई क्षेत्रमा बसोबास गर्ने गरीब समुदायका लागि पीडामाथि पीडा थप्ने काम गरिरहेको छ ।
कमजोर पूर्वतयारी
शीतलहरका लागि भनेर सरकारले आधा तराई जिल्लाका लागि लाखौं रुपैयाँ बजेट छुट्याउँछ । तर, ती स्थानमा गएको वर्षको बजेट नै खर्च भएको देखिँदैन । सरकारले शीतलहर आउनुअघि नै तराई क्षेत्रमा जाडो लक्षित कार्यक्रमहरु सञ्चालन गरेको पाइँदैन । कम्बल, दाउरा, न्याना कपडाहरु जस्ता राहत सामग्रीहरु अति असुरक्षित भएका तथा अति आवश्यक परेका परिवारलाई बाँडिदैन ।
सरकारी निकायहरुले आपतकालीन समयलाई मध्यनजरमा राखेर आफूहरु पूर्णरुपमा तयारी अवस्था रहेको दाबी गरे पनि नागरिकहरु भने निराश छन् । विपदले जनधनको क्षति भइसकेपछि मात्र सरकारी निकाय सकृय हुने गरेको नागरिकहरुको गुनासो छ । हरेक वर्ष विभिन्न मौसममा तराई क्षेत्र बढी प्रभावित हुने गरे पनिस्थानीय सरकारहरुले समेत जागरुकता कार्यक्रम, तत्परता र क्षतिको रोकथाममा ध्यान दिँदैनन् ।
स्थानीय सरकारहरुले प्राकृतिक प्रकोप व्यवस्थापन चक्रका चार मुख्य खम्बाहरु, जस्तै– सामना गर्ने क्षमता, तत्परता, रिकभरी र रेस्पोन्सलाई बजेट निर्माणका प्रकृयागत नीति नियम तथा कार्य निर्देशिकामा राखेका त छन्, तर बजेट छुट्याउँदा त्यसलाई पालना गरेको पाइँदैन । प्राकृतिक विपदहरुको न्यूनीकरणका कार्यक्रमभन्दा राहत बाँड्ने कार्यक्रमहरु सरकारी प्राथमिकतामा पर्ने गरेका छन् ।
अझ सरकारी प्राथमिकतामा परेका राहत बाँड्ने तथा अन्य बजेटका कार्यक्रमहरु पनि पीडित नागरिकसम्म निकै ढिलो पुग्ने गर्छन् । सिरक, कम्बल र दाउरा बाँड्नेजस्ता तत्कालीन राहतका कार्यक्रमहरुमा चुस्ततासँगै दीगो समाधानका लागि अध्ययन अनुसन्धानको पनि खाँचो छ । सर्वसाधारणको मृत्यु, धनजनको क्षति तथा अरु असर नियन्त्रणका कार्यक्रमहरु एकीकृत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
जलवायु परिवर्तनले थपेको संकट
विभिन्न अध्ययनका अनुसार नेपालको तराईका जिल्लामा डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिमसम्म करिब एक महिनामा शीतलहरको प्रभाव बढ्ने गरेको पाइएको छ । यो समयमा यी तराईका जिल्लाहरुको तापक्रम हिमाली भेगमा जस्तै शुन्यबाट पनि तल झर्छ । हुस्सु र कुहिरो चौबिसै घन्टा निरन्तर लागिरहनु र घाम नलाग्नु शीतलहरका मुख्य कारक हुन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बाक्लो बादलले गर्दा दिनभर हुस्सु लाग्छ । जब पश्चिमी वायुको तेज बढ्छ, त्यसले अधिकतम र न्युनतम तामक्रम निकै तल पुर्याउँछ । विभागको तथ्यांक अनुसार पछिल्लो दशकको तुलनामा अचेल हुस्सु लाग्ने दिनको लम्बाइ बढ्दै गएको छ । शीतलहर करिब एक महिनासम्म लगातार रहिरहने अवस्था छ ।
विभागको मौसम विश्लेषण शाखाका अनुसार शीतलहरको प्रवृत्ति विश्लेषण गर्ने चार प्रमुख कारणहरु छन् । जसमा दृढता, आवृत्ति, तीव्रता र हदसम्म पर्छन् । शाखाका अनुसार सन् १९९० देखि यता शीतलहर ह्वात्तै बढेको छ । सन् २००४, २०१० र २०१७ को अभिलेखले भने शीतलहरको प्रभाव आकाशिएको देखिन्छ ।
शीतलहरको मापन गर्ने तरिका विभिन्न देशमा फरक–फरक हुन्छन् । नेपालमा भने एकदिनमा तापक्रम एकैपटक ४ देखि ८ डिग्री घट्नु र त्यस्तो अवस्था दुई दिनसम्म जारी रहनेलाई शीतलहरका रुपमा लिइन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले दिनहुँ तापक्रमको मूल्याङ्कन गर्छ र शीतलहरका सम्भावनाहरुबारे अध्ययन गर्छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालको शीतलहर धेरैजसो पश्चिमी वायु तथा अरबी समुन्द्रमा आउने आँधीमा भर पर्छ । जब पश्चिमी वायु वा यसका कणहरु भूमध्य समुन्द्रबाट नेपाल प्रवेश गर्छन् यसले साथमा चिस्यान पनि भित्र्याउँछ । पश्चिमी वायु भूमध्य समुन्द्रमा बन्छन् र इरान, अफगास्तानिस्तान अनि पाकिस्तान हुँदै नेपाल प्रवेश गर्छन् ।
भारतका धेरै भागमा शीतलहर आएका बेलामा नेपालमा शीतलहरको प्रभाव बढ्ने गर्छ । विज्ञहरुका अनुसार नेपालजस्ता पहाडी र कम विकसित देशमा बस्ने मानिसहरुको स्वास्थ्यमा जलवायु परिवर्तनका प्रत्यक्ष वा परोक्ष असरहरु देखिन्छन् । नेपालजस्तो प्राकृतिक प्रकोपको जोखिममा रहेका देशहरुमा जलवायु परिवर्तनका अप्रत्याशित उत्तारचढावहरु देखिन्छ ।
अत्याधिक पानी पर्नु, एकदमै चिसो र एकदमै तातो हावा चल्नु, बाढी र पहिरो आउनु यसका लक्षण हुन् । जसका कारण नागरिकहरु अंगभंग हुने, मानसिकरुपमा बिरामी हुने साथै मृत्युसम्मका घटना बढिरहेका छन् भने गर्मीमा लाग्ने रोगहरु अल्पाइन क्षेत्रमा समेत भेटिनु भनेको जलवायु परिवर्तनबाट मानवमा ठूलो असर परेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं