सूचनाको शक्ति - The Power Of Information

        

बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती प्रदेश सरकार गठनको लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मा ५ दिनको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढि दलहरुसँगको सहकर्यामा सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालय हेटौंडाका सचिव ओमबहादुर खड्काले जानकारी दिए । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ ।

प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको सचिव खड्काले बताए । आह्वान अनुसार पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनको लागि दलहरुले प्रदेशप्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ११:५४