सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको पेशी आज, बदर होला बेरितको आदेश ?

बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज तोकिएको छ । न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा पेशी चढेको छ ।

यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो । न्यायाधीश सुभाष पौडेल र किरण कुमार पोखरेलको इजलासमा पेशी चढेको थियो । उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस सकिएको खण्डमा आदेश आउने सम्भावना देखिएको छ ।

आदेशको आधारमा सन्दीप जेलभित्रै बसेर मुद्दा लड्ने, साधारण धरौटीमा रिहा हुने वा धरौटीमा रिहा हुनेछ । जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन् । जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन् ।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप लामिछाने एकाएक सङ्कटमा पुगेका हुन् । भदौ ५ गते क्रिकेट कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ११:४२