सूचनाको शक्ति - The Power Of Information

        

आजको दैनिक पत्रिकाः मोदी भ्रमणदेखि पार्टी एकतासम्म

काठमाडौं । राजधानी काठमाडौंबाट बिहीबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । पत्रिकाका पहिलो पृष्ठमा आज राजनीतिसँग सम्बन्धित सामग्री बढी भए पनि आर्थिक, सामाजिकलगायतका मुद्दाहरुलाई पनि पत्रपत्रिकाहरुले समेटेका छन् ।
एमाले–माओवादी एकता प्रक्रियामा देखिएका गाह्रा–साह्रा केही पत्रिकाले आज खोतलेका छन् । कान्तिपुर दैनिकले ‘ओली–दाहाल खटपट’ शीर्षकमा पहिलो पृष्ठमा समाचार लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन् । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका पुष्पकमल दाहाल ओलीको छलफलमा औपचारिकता पूरा गरेर फर्किएका छन् ।
दुई अध्यक्षबीचको गाँठोले वाम एकता घाम पानीजस्तै भएको विश्लेषण राजधानी दैनिकमा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे लेख्दै आइरहेका पत्रपत्रिकाहरुले आज पनि यो विषयलाई छुटाएका छैनन् । राजधानी दैनिकले व्यवस्थापिका संसदमा भ्रमणबारे भएको सवाल–जवाफलाई आधार बनाएर समाचार बनाएको छ भने नागरिक दैनिकले ‘मोदीलाई जेड तहको सुरक्षा’ शीर्षक दिएर खबर लेखेको छ । मोदीको सुरक्षाकै विषयमा खबर लेखेको नयाँ पत्रिकाले हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने जनाएको छ ।
यसका अतिरिक्त राजधानी काठमाडौंको पानी अभावदेखि २ महिनामै साढे ६ अर्ब सक्ने खेलसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रकाशित गरेका छन् ।
२ महिनामा ६ अर्ब सक्न सांसदको दबाव
सांसद्हरुले चालु आर्थिक वर्षभित्र खर्चने गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्षकको ५० लाख र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा गराउन सरकारमाथि दबाव दिएको कान्तिपुर दैनिकमा समाचारद छ । आर्थिक वर्ष २०७४र७५ सकिन २ महिना मात्रै बाँकी हुँदा सांसदहरुले यही अवधिभित्र खर्च गर्न उक्त रकम निकासा खोजेको समाचारको सार छ । समाचार अनुसार निार्वचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि ४ अर्ब ९५ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि १ अर्ब ६७ करोड छुट्याउनुपर्ने हुन्छ ।
ओली एक्लौटी अघि बढ्दा प्रचण्ड रुष्ट
बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल माओवादीसँग छलफल नगर्दा प्रचण्ड सशंकित बनेका छन् । कान्तिपुर दैनिकका अनुसार बजेट मात्रै होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले प्रचण्डसँग परामर्श गरेका छैनन् । प्रचण्डले माओवादीतर्फबाट राष्ट्रिय योजना आयोगका लागि विद्यावारिधि उपाधिप्राप्त दुई व्यक्तिको नाम पनि दिएका थिए । ओलीले तिनलाई राखेनन् । माओवादी सल्लाहबिनै योजना आयोगलार्य पूर्णता दिए । समाचार अनुसार यसले प्रचण्ड रुष्ट बनाएको छ ।
राजनीतिक दबावले अनुगमन ठप्प
राजनीतिक दबावले ललितपुर महानगरपालिकामा अनुगमन रोकिएको छ । महानगरपालिका आर्थिक विकास समितिले डेढ महिनाअघि सातदोबाटोस्थित सेल्सवेरी डिपार्टमेन्ट स्टोरमा अनुगमन गर्ने तय गरेको थियो । तर योजनाअनुसार हालसम्म पनि अनुगमन गरेको छैन ।
कान्तिपुर दैनिकका अनुसार राजनीतिक दबावका कारण सेल्सवेरीमा अनुगमन रोकिएको हो । महानगरपालिकाकै अधिकारीले यो स्वीकारेका छन् । नाम चलेका स्कुल, कलेज, अस्पतालदेखि ठूला सपिङ मल, होटलसम्मले करोडौं रुपैयाँ राजश्व छली गरेका छन् । तर यिनीहरुलाई करको दायरामा ल्याउन महानगरपालिकाले जाँगर चलाएको छैन ।
काम गर्न साउदीमा, खाना खर्च नेपालबाट
वैदेशिक रोजगारदाताको बदमासीका कारण १ नेपाली साउदी अरेबियामा अलपत्र परेका छन् । काभ्रे बनेपाका राजकुमार तिमिल्सेना साउदीमा अलपत्र परेका हुन् । उनी अलपत्र परेपछि परिवारले नेपालबाट खाना खर्च पठाइरहेका छन् ।
नयाँ पत्रिका दैनिकका अनुसार इनिसियल साउदी अरेबिया लिमिटेड नामक एक निर्माण कम्पनीमा काम गर्न गएका उनी मंसिरसम्म त्यहीँ कार्यरत थिए । ०७३ मा अन्तिमपटक तलब बुझेका राजकुमारले त्यसयता तलब पाएका थिएनन् । ०७४ मा उनले काम गर्दै आएको कम्पनी बन्द भयो । त्यसपछि कम्पनीका मालिक सम्पर्क्विहीन भए । मालिक नै सम्पर्कमा नभएपछि उनी नेपाल फर्कन चाहन्थे तर एक्जिट भिसासमेत लगाउन नपाउँदा उनी स्वदेश फर्किन सकेका छैनन् । उनी श्रीमतीले पठाएको खर्चमा बाँचिरहेका छन् ।
मोदीको अभिनन्दन नागरिक नभएर नगर !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा गरिने भनिएको अभिनन्दन नागरिक नभएर नगर अभिनन्दन रहेको सरकारले स्पष्ट पारेको छ । नागरिक अभिनन्दनका नाममा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सरकारले नागरिक नभएर नगर अभिनन्दन गर्न लागेको राजधानी दैनिकमा खबर छ । संसदको बुधबारको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस विषयमा स्पष्ट पारेका छन्

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०१:५६