नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा धुम्रपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलिया लगायत विकसित मुलुकमा सार्वजनिक स्थलमा धुम्रपान गर्न पाइँदैन । न बेच्न नै इजाजत दिइएको छ । कसैले धुम्रपान गर्यो भने २५० डलरसम्म जरिवाना गराइन्छ । तर, नेपालमा एक सय रुपैयाँ तिराएर छाडिन्छ ।
सरकारले खुल्ला ठाउँमा धुम्रपान बेच्न र सेवन गर्न रोक लगाएर कानुन नै बनाइसकेको छ । जुन राजपत्रमा समेत प्रकाशित भइसकेको छ । तर, कानुनको उल्लङ्घन गरेर सार्वजनिक स्थलमा धुम्रपान बेच्ने र सेवन गर्ने यत्तिकै भेटिन्छन् । सरकारको नियमलाई सर्वसाधारणले धोती लगाइदिएका छन् । अनुगमन नै नभएपछि अटेर गर्नु स्वाभाविकै पनि हो । सरकार कानुन बनाउने र दराजमा थन्काउने गर्छ ।
जनतालाई त्यही कानुन कुल्चिएर नचाँहिदो काम गर्न खुबै रहर लाग्छ । १६ वर्ष भन्दामुनिका बालबालिकालाई चुरोट, खैनी, सुर्ती किन्न पठायो भने बाबुआमालाई कैद सजाय हुने प्रावधान छ । त्यस्तै, बालबालिकालाई यी सामान बेच्ने पसलेलाई पनि कारबाही गरिने कानुन बनाइएको छ । कैद सजाय र जरिवाना दुवै भुक्तान गर्नुपर्ने हुन्छ । तर, यो नियम पनि कसले टेर्ने ?
अभिभावकले बच्चालाई यस्ता सामग्री किन्न पठाएको प्रशस्तै देखिन्छ । ससाना बालबालिका पसलमा चुरोट मागिरहेका भेटिन्छन् । पसलेको कमाउधन्दा हुने भएपछि बेचिहाल्छन् । धुम्रपान खाने मात्र होइन उसको परिवार र उसको छेउछाउ भएकालाई समेत असर पुर्याउँछ । चुरोटको धुँवा टाढाटाढासम्म पुग्छ । धुम्रपान गर्नु भनेको पैसाको खेर फाल्नु र रोग निम्त्याउनु हो ।
धुम्रपानले मानिसको फोक्सो, कलेजो लगायत महत्वपूर्ण अंग खराब बनाइरहेको छ । पछिल्लो समय अधिकांशको फोक्सो, मिर्गौला र कलेजो बिग्रेको छ । कारण यही नै हो । धुम्रपानले व्यक्तिलाई दम हुन्छ । हिँड्न सास्ती गराउँछ । यता, सरकारी कार्यालयका कर्मचारीहरु पनि धुम्रपानको सेवन गरिरहेको भेटिन्छन् । सरकारले धुम्रपान गर्नुहुँदैन भन्छ, तर आफ्नै मातहतका कर्मचारीले टेरेका छैनन् ।
सार्वजनिक यातायातमा समेत चुरोटको धुँवा उडाइरहेका हुन्छन्, यात्रु । होटल, रेष्टुरेण्टमा सबैभन्दा धेरै बिक्री हुने भनेकै चुरोट हो । सर्वसाधारणहरु आफैंले आफ्नो बाँच्ने अवधि छोट्याइरहेका छन् । रोग लागेर जिउनु अर्को सास्ती भइहाल्यो । आफ्नो श्री सम्पत्ति पनि यसैमा सिध्याउनेहरु पनि भेटिन्छन् । जनचेतना कमीले गर्दा मानिसहरुमा धुम्रपानको लत लागेको हो ।
सरकारले धुम्रपान गर्नुहुँदैन भनेर बेलाबखत विभिन्न अभियान त चाल्ने गरेको छ । तर, त्यसले निरन्तरता नपाउँदा पनि यस्तो भएको बताइन्छ । त्यस्तै, सरकारले धुम्रपान गर्न निषेध गर्ने भने पनि अनुगमन गर्दैन् । अनि कसरी लागु हुन्छ, धुम्रपान रोक्ने अभियान ? कुनै पनि मान्छेले आफ्नो आमाको पेटबाट त चुरोट खान सिकेका हुँदैन । भोलि आफू कस्तो मान्छे हुने भन्ने कुरा संगतले सिकाउँछ ।
आमाबाबु सध्ये छन् भने छोराछोरी पनि त्यही लाइनमा जान्छन् । अभिभावक नै धुम्रपानको भोगी छन् भने छोराछोरीले सिक्ने त भइ नै हाले । त्यसपछि साथी संगतले पनि यसमा धेरै प्रभाव पार्दछ । साथीकै लहैलहैमा लागेर कतिपय केटाकेटी बिग्रिएका छन् । समाजले पनि व्यक्तिलाई धेरै प्रभाव पारेको हुन्छ । आफ्नो सामाजिक संस्कृति कस्तो छ ? त्यहीअनुसार त व्यक्ति अघि बढ्ने हो । सरकार जनताप्रति कहिल्यै जिम्मेवार भएन ।
राज्यले जनतालाई कर र भोट लिने साधन मात्र बनाएको छ । कुनै महिलाको कोखमा गर्भ आउनेबित्तिकै राज्यले कर उठाउन थाल्छ । बच्चा पेटमा हुँदादेखि नमरुञ्जेल कर लिने गरेको छ । यता, त्यही बच्चा भोलि ठुलो भएर आफूलाई मतदात गर्छ । नेताहरुलाई सत्तामा पुर्याउने साधन भए जनता । सरकार जनतालाई आम्दानीको स्रोत बनाउने, उद्योग व्यापारीहरु बिष बेचेर पैसा कमाउने । स्वास्थ्य व्यक्तिलाई विष खान दिएर मार्ने ।
चुरोट, खैनी, गुट्खा, पान पराग, सुर्ती यो सबै विष हो । उत्पादन गर्ने कम्पनीलाई त यो कमाउने राम्रो स्रोत बनेको छ । तर, जनता त दिनदिनै बिरामी बनिरहेका छन् । उद्योगी व्यवसायीहरु आफूखुसी यस्ता सामग्रीका रेट राख्छन् । चुरोटको मूल्य सरकारले तोकेको हैन । उद्योगी व्यवसायीको जिब्रोमा आए अनुसार रेट राखिएको छ । मान्छे जन्माउने जनता, कमाउने उद्योग व्यवसायी, कर लिने सरकार । उद्योग व्यवसायीले जनता जन्माउन सक्छ ?
जनता जन्माउन पनि नसक्ने अनि यस्तो विषालु पदार्थ खान दिएर मार्ने । पछिल्लो समय क्यान्सरका बिरामीको संख्या बढ्नुको कारण हो ? अस्पताल गयो भने अधिकांश बिरामी क्यान्सर कै रोगी भेटिन्छन् । क्यान्सर अस्पतालमा बिरामीको चाप उत्तिकै हुन्छ । पैसा हुने त उपचार गराउलान नहुनेले के गर्ने ? आफूसँग भएको सम्पत्ति उपचार गर्दा गर्दै सकाइसकेका छन् । त्यतिखेर मात्र हिजो आफूले चुरोट नखाएको भए हुन्थ्यो भनेर दिमाग आउँछ ।
न अकालमा ज्यान खेर फाल्नुपथ्र्यो न सम्पत्ति नै स्वाहा हुन्थ्यो । मर्ने दिन कुरेर बस्ने कति गाह्रो हुन्छ ? क्यान्सरको उपचार गर्न थुप्रै पैसा लाग्छ । आफ्नो घरखेत बेचेर उपचार गर्नेसमेत छन् । सरकारले जनतालाई औलामा राखेर फनफनी घुमाइरहेको छ । एकातिर यस्ता सामग्री बेच्नेलाई लाइसेन्स दिन्छ । त्यहीबाट कर उठाइरहेको छ । अर्कोतिर चुरोट, सुर्ती खानुहुँदैन भन्ने पनि सरकार नै हो । सार्वजनिक स्थलमा धुम्रपान गरेमा वा त्यस्ता सामग्री बेचेमा कारबाही गर्छौ भन्ने गरेको छ । तर, गर्दैन ।
फेरि नेपालमै क्यान्सरको उपचार गर्ने अस्पताल खोलेको छौं भन्छ । जनता रोगी बनाउनेमा सरकारकै हात छ । सरकार आफैंले जनतालाई बिष खान दिन्छ अनि शिथिल भएपछि उपचार गरेर बचाउँछौ भन्दै जनताको पैसा लुट्छ । सरकार र उद्योगीहरु मिलेर जनता मारिरहेका छन् । उनीहरुलाई कङ्गाल बनाउनमा यी दुईको हात छ । नेपालमा धेरै कलाकार धुम्रपान गर्नुहुँदैन भनेर विज्ञापन गर्छन् । डाक्टर धुम्रपान गर्नुहुँदैन भनेर ठूल्ठुला कुरा गर्छ तर आफैले चुरोटको धुँवा उडाउँछन् ।
सरकारले यी उद्योगहरु बन्द गरिदिने हो भने जनताको बाँच्ने अधिकार सुनिश्चित हुन्छ । धेरै मान्छेहरु रोगी भएर थलिनबाट बच्छन् । रोग लागेर श्री सम्पत्ति सिद्धयाउने अवस्थाको अन्त्य हुन्छ । नेपालीको बाँच्ने अधिकार पनि लम्बिन्छ । सरकारी र निजी विद्यालयमा पठाउने शिक्षकहरु धुम्रपान गरिरहेको विद्यार्थीले देखेका हुन्छन् । किनकि स्कुलभित्रै शिक्षकहरुले चुरोट तानिरहेका हुन्छन् । शिक्षकले नै चुरोट तानेपछि विद्यार्थीले नसिक्ने त कुरै भएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस्ता उद्योगहरुलाई कारबाही गर्नुको साटो उनीहरुसंग कमिशन खाएर बसिरहेको छ । फिल्म, भिडियोमा कलाकारहरुले शोखका साथ चुरोट सेवन गरिरहेका हुन्छन् । खुसी भए नि दुःखी भए पनि चुरोट नै तान्ने । कलाकारहरुले यस्तो पदार्थ सेवन गर्दा जनताले के सिक्छन् ? निर्माताले पहिल्यै सोच्नुपर्ने हो । जनताले नराम्रो कुरा सिकिरहेका छन् । कलाकारकै सिको गर्दै धुम्रपानको लतमा फसेकाहरु पनि छन् । कलाकारहरु कहिले राष्ट्र र जनताप्रति जिम्मेवार भएनन् ।
धुम्रपान सेवन गर्नुहुँदैन भनेर विज्ञापन बोर्डले जनतालाई सचेत गराएको छैन । यता, सञ्चारमाध्यमहरुले त यस्तै विज्ञापन राखेका हुन्छन् । बच्चा जन्मेपछि उसमा राज्य र बाबुआमा दुवैको लगानी हुन्छ । तर, धुम्रपानका कारण ऊ रोगी हुँदा वा असामयिक मृत्यु हुँदा यसको क्षति सबैले व्यहोर्नुपर्छ । राज्य र परिवारले ठूलो क्षति खेप्नुपर्छ । राज्यले जनता बचाउनका लागि पनि मादक पदार्थ र चुरोट, खैनी उद्योगहरुलाई दिएको लाइसेन्स खारेज गरिदिनुपर्छ । कर आउँछ भनेर सरकार लोभमा फस्नुहुँदैन । करभन्दा ठूलो जनता हो नि ?
पहिलो कुरा सरकारले जनताको बाँच्नै अधिकार नै सुनिश्चित गर्नुपर्छ । सरकार जिम्मेवार बनिदिने हो भने क्यान्सर अस्पताल खोल्नैपर्दैन । मुलुकका सबै स्थानीय तहले सार्वजनिक स्थलमा धुम्रपान बेच्ने र खानेलाई कारबाही गर्नुपर्छ । जरिवाना निकै न्युन भयो । जरिवाना बढाएर १० देखि ३० हजार पुर्याउनुपर्छ । कैद सजाय पनि बढाउनुपर्छ । धुम्रपान रोक्नेबित्तिकै बाटो पनि सफा हुन्छ । सडकभरि ठुटैठुटा छ, परागको घिनलादो दाग छ । धुम्रपान निषेध सम्बन्धी कानुन छ, तर कार्यान्वयन भएन । जाँडरक्सी र धुम्रपानका कारण ७५ प्रतिशतले अकालमा ज्यान गुमाइरहेका छन् ।
अनुसा थापा । भक्तपुर