सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेमा खुकुरी प्रहारमा संलग्न चार जना सार्वजनिक

खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहारबाट नेपालगन्ज १२ निवासी अनुराग शाह, जानकी गाउँपालिका वडा नम्बर ३ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका थिए ।

आक्रमणबाट घाईते भएका तीनै जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापालाई सोमबार बिहान सार्वजनिक गरिएको हो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट एसपी सन्तोषसिंह राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा पठाएर संलग्न ब्यक्तीको खोजी कार्य सुरु गरेको थियो ।

खुकुरी प्रहार गरी भागेका डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको युपी ३२ इयु ८६१६ नम्बरको खैरो रंगको कार प्रहरीले फेला पारेको थियो ।

Khukuri1672649278.jpg

उक्त घटनामा संलग्न नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ वस्ने वर्ष २९वर्षीय भण्डारी, नेपालगन्ज ६ का ३१ वर्षिय प्रकाश, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ निवासी ३१ वर्षका नारायण डाँगी र बैजनाथ गाउँपालिका वडा नम्बर ५ का २९ वर्षिय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनारलाई डुडुवा गाउँपालिका वडा नम्बर २ दासपुरुवा भन्ने स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी नेपालगन्ज ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारी बरामद गरिएको उनले बताए । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १७:१९