सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीको नवनिर्मित अस्थायी प्रदेशसभा भवनमा सांसदहरूले शपथ लिएका थिए ।

यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । प्रदेश प्रमुख शेरचनले प्रदेशसभा नियमावली नियम ४ बमोजिम लुम्बिनी प्रदेशमा प्रमुखले नै सबै सांसदहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।

शपथग्रहण समारोहमा मुख्यमन्ती कुलप्रसाद केसी, एमाले महासचिव तथा पूर्वमुख्य मन्त्री शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, कांग्रेस नेता चन्द्र भणडारी, प्रदेश सभापति अमरसिंह पुन लगायत नेताहरु सहभागी थिए ।

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता गर्नेछन् ।

प्रदेश प्रमुखले ६९ वर्षीय भुसाललाई यस सम्बन्धी जिम्मेवारी पत्र प्रदान गरेका छन् । भुसाल नेकपा एमालेबाट गुल्मी २ (क) बाट निर्वाचित भएका हुन् । प्रदेशसभाको पहिलो बैठक सोमबार (भोलि) दिउँसो १ बजे बस्नेछ ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन् । १० राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो दल बनेका छन् ।

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक प्रदेशसभा सदस्य छन् । एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : १७ पुष २०७९, आइतवार १७:३९