सूचनाको शक्ति - The Power Of Information

        

काम भन्दा चुनाव प्यारो, मतदानबारे अन्यौल


इन्द्रसरा खड्का/बैतडी । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि बैतडीमा पनि चहलपहल बढेको छ । बैतडीमा कांग्रेस र राप्रपा मिलेर बनेको लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन चुनावी प्रचारमा व्यस्त छन् । उम्मेदवारी मनोनयन दर्ता गरेसँगै गाउँघर केन्द्रित बनेका नेता कार्यकता अहिले चुनावी अभियानमा छन् । चिया पसलदेखि खेतबारीमा समेत चुनावकै चर्चा हुन थालेको छ ।
खेतमा गहुँ छर्दै गरेका किसान चुनाव कसले जित्ला भनेर बहस गर्ने गर्छन् । उनीहरुलाई कामको भन्दा चुनावको चासो बढि देखिन्छ । उम्मेदवार पनि उसैगरी नागरिकसँग भेटवार्तामा व्यस्त छन् । बैतडीमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट दुवैजना मन्त्री भिड्ने भएपछि अझै चुनाव रोचक हुने देखिएको छ । १ क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धनबाट बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र वाम गठबन्धनबाट पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी चुनावी मैदानमा उत्रिएका छन् ।

१२ जना प्रतिस्पर्धामा

प्रतिनिधिसभाको लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना प्रतिस्पर्धामा छन । प्रतिनिधिसभामा ५ जना तथा प्रदेशसभा १ मा ५ जना तथा २ मा २ जना उम्मेदवार बनेका छन । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नरबहादुर चन्द, वाम गठबन्धनबाट दामोदर भण्डारी, विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट विरेन्दसिंह भण्डारी चुनावी मैदानमा छन् ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलिपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । यस्तै प्रदेश सभा अन्तर्गत क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् ।

नागरिक अन्यौलमा

हाम्रोलाई भन्दा राम्रोलाई भोट दिने बताए पनि कतिपय कसलाई छान्ने भन्ने अन्यौलमा छन् । स्थानीय तह चुनाव लगत्तै अर्को चुनाव भएकाले कुनले कस्तो काम गर्छ, त्यसको मूल्याङकन गर्न नपाउँदै चुनाव हुने भएपछि कसलाई भोट दिने भन्ने अन्योल बढेको दशरथचन्द नगरपालिकाका नारायन भट्टले बताए । स्थानीय तहको चुनाव सम्पन्न भएको ४ महिनासम्म पनि जनप्रतिनिधिले कामको सुरुवात नै नगरेकाले भोट दिन भन्दा नदिन नोभोट भन्न सजिलो भएको मेलौलीका मिना अधिकारीले बताए । स्थानीय तहको चुनावपछि सिंहदरबारको सेवा सुबिधा गाउँघरमै पाउने आशा राखेका बैतडीका नागरिक भने आक्रोशित बनेका छन् । सदरमुकामबाट सबैभन्दा टाढा रहेका नागरिक आफ्नो गाउँठाउँमा सेवा पाउने भन्दै खुी भएपनि अझै सेवा नपाएको गुनासो गरिरहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ०४:४९