सरकार गठनसँगै परिवर्तन भएको राजनीतिक समीकरणले धेरै कुरामा प्रभाव पारेको छ । प्रतिपक्षको मत पाएको एमाले सरकारमा मात्र आएन, सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा धकेलियो । एमाले सरकारमा आउनु र कांग्रेस प्रतिपक्षमा जानु देखिएका घटना हुन् । तर, पछिल्लो राजनीतिक घटनाक्रमले धेरै परिवर्तन ल्याएको छ । र, ल्याउने देखिन्छ ।
निर्वाचन अघिको गठबन्धन दल नेकपा माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार बनाएपछि तत्कालीन गठबन्धनको मुख्य घटक नेकपा एकीकृत समाजवादी छुटेको छ । यतिखेर एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने चर्चा उत्कर्षमा छ । नयाँ समीकरण बनेसँगै एमाले–माओवादीको शत्रुवत् सम्बन्ध ३६० डिग्री घुमेर मित्रवत बनिसकेको छ । तर, एमाले र एकीकृत समाजवादीबीचको सम्बन्धमा त्यस्तो फरक पाइएको छैन ।
तथापि, एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयासले भने नयाँ चरणबाट सम्बन्धमा फेरबदल आउने सम्भावना नकार्न सकिन्न । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच थुप्रै चरणमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री र अध्यक्ष ओली दुवै यो विषयमा सकारात्मक देखिन्छन् ।
तर, त्योभन्दा पहिले दुई वर्षअघि छुटेका ओली–माधवबीच तिक्ततापूर्ण सम्बन्धमा ‘आइस ब्रेक’ गर्ने तत्त्वको खोजी भने भइरहेको छ । यसबीचमा, अध्यक्ष ओलीका अति निकट मानिएका एमाले नेता महेश बस्नेत लगायतले अध्यक्ष नेपालसँग बारम्बार संवाद गरिरहेका छन् । उनीहरूले एमालेमा फर्कन माधवलाई आग्रह गर्दै आएका छन् । तर, माधवले त्यो सम्भावना नरहेको भन्दै आएका छन् ।
प्रधानमन्त्रीको शपथ समारोहमा लामो समयपछि ओली र माधव सँगै देखिए । करिव दुई वर्ष लामो संवादहीनता पनि त्यही दिन तोडियो । र, उनीहरूबीच सौहार्दभावमा संवाद भयो । तर, यसैका आधारमा उनीहरु चिल्छन् भन्ने चाहिँ होइन । आइतबार भर्चुअल माध्यमबाट गैरभौगोलिक कमिटीका नेताहरूसँग संवाद गर्दै अध्यक्ष नेपालले ‘सरकारमा जाने कि नजाने’ भन्दै राय मागेका थिए । बहुमत वक्ताले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् ।
यसै कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँग संवाद भएपनि पार्टी एकताका लागि कुरा नभएको बताएका थिए । यस आधारमा पनि एमाले र एकीकृत समाजवादीबीच संवादहीनता तोडिदै गएको बुझिन्छ । सम्भवत् एकीकृत समाजवादी टिट्टै सरकारमा सहभागी हुनसक्छ । यस्तो अवस्थामा एमाले र एकीकृत समाजवादीबीचको सम्बन्धमा केही न्यानोपन आउने अनुमान हुने गरेको छ ।
प्रचण्डको नेतृत्वमा सरकार बनेको भए पनि एमालेको समर्थन रहेकाले यो सरकारमा सहभागी हुनु हुँदैन भन्ने मत पनि एकीकृत समाजवादीमा सुनिन्छ । तर, सरकारमा सहभागी नभए जनताको सेवा गर्न सकिन्न भन्ने मत ठूलो छ । त्यसैगरी, स्वयम एमाले अध्यक्ष ओलीसमेत एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन सकारात्मक रहेकाले एकीकृत समाजवादी सरकारमा सहभागी हुने समयसम्ममा एमाले र एकीकृत समाजवादीबीचको सम्बन्धमा सुधार आउने धेरैमा आशा पलाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं