सूचनाको शक्ति - The Power Of Information

        

कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस खुम्चिँदै

पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसदमा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग रहेका साना दलहरू गुमनाम भइसकेको पत्रकार एवं विश्लेषक चिरञ्जिवी अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिस्टहरू बिस्तारै फेरि एक ठाउँ आउँदै गर्दा कांग्रेसभित्र साविकको गठबन्धन तोडिएको विषयलाई लिएर आन्तरिक भाँडभैलो सुरू भएको छ ।

यसले उक्त दललाई घाटा गर्दछ ।’ नेपालको राजनीतिमा विगत पाँच वर्षयता गठबन्धन संस्कृति मौलाउँदै गएकाले दलहरूबीच वैचारिक दृष्टिकोणमा तात्विक फरक नदेखिएको उहाँको भनाई छ ।

चुवावअघि हुने दलहरूबीचको गठबन्धनले बहुदलीय लोकतन्त्रमा कसको शक्ति कति छ भन्ने यकिन गर्न नसकिने टिप्पणी गर्दै अर्यालले भन्नुभयो, ‘चुनावअघि गरिने गठबन्धनको अभ्यासले प्राथमिकता पाउँदै आएको छ ।

तर, ती गठबन्धनहरू चुनावपछिको शक्ति बाँडफाँटमा आइपुग्दासम्म तोडिँदै आएका छन् ।’

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ०७:४२