क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ ।
सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो ।
सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी गर्दै आएको छ । तर, आरोपक किशोरी पक्षले भने उनी नाबालिग नै रहेको दाबी गर्दै आएको छ । हालसम्म देखिएका प्रमाण र सन्दीप पक्षका वकिलहरूका अनुसार आरोपक किशोरीका फरक–फरक जन्ममिती देखिएका छन् ।
सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन् । जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ । सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ ।
तर, किशोरीको जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रका अनुसार भने उनको जन्म २०६२ जेठ १८ गते भएको देखिन्छ। जसअनुसार घटना भएको दिन उनको उमेर १७ वर्ष दुई महिना भएको देखिन्छ ।
यही विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौँ