नेपालगन्ज उपमहानगरका अधिकांश घरहरू भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । उपमहानगरको पुरानो बस्ती र मापदण्ड विपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेको पाइएको हो ।
पश्चिमको कुनै पनि क्षेत्रमा ८ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जका तीन हजार घर ध्वस्त हुन सक्ने बेलायतको डोरमन विश्वविद्यालयको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बमले बताए ।
आयोजनाका परामर्शदाता बमका अनुसार उपमहानगरमा मात्रै ११ हजार ८०० बढी मानिस भूकम्पको जोखिममा रहेको अध्ययनमा जनाइएको छ । भूकम्पको सबैभन्दा बढी जोखिममा ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगन्जमा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
भूकम्प लगायत अन्य विभिन्न प्रकारका विपदबाट जोगिन र जोगाउन उपमहानगरले पनि पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ निर्माण गरिरहेको छ । नेपाल रेडकस सोसाइटी, नेपालगन्ज शाखाका सभापति गोवर्द्धन सिंहले भूकम्पीय जोखिम लगायत विपद्को सामना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्ने हुँदा सोही निर्माण भइरहेको बताए ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्ज भूकम्पको उच्च जोखिममा रहेकाले जोखिम हटाउन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको बताए । जोखिममा रहेका घरहरूको बीमा गर्ने विषयमा उपमहानगर सक्रिय रहेको जनाउँदै मेयर विष्टले बीमा कम्पनीसँग छलफल भइरहेको पनि बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक वसन्तकुमार कनौजियाले वडा नम्बर ३ र ७ भूकम्पको उच्च जोखिममा रहेकाले तत्काल ती ठाउँबाट बीमाको थालनी गर्नेगरि योजना बनिरहेको बताए । उपमहानगरको पुरानो बस्ती तथा कतिपय घरहरू मापदण्डविपरीत निर्माण भएकाले भूकम्पको अत्यधिक जोखिममा छन् ।
सत्यपाटी संवाददाता । बाँके