सूचनाको शक्ति - The Power Of Information

        

३५ तोला सुन र २५ लाख नगदसहित डीएसपी ठगबहादुर पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् ।

सुनको कारोबार सम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ तथा चेक बरामद गरिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, ‘उहाँलाई नियन्त्रणमा लिएका छौं । थप कुरा अनुसन्धानबाट थाहा होला ।’

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर केसीले आफैँले राखेका थिए । सोही सुन फिर्ता दिने सहमतिमा डीएसपी केसीले २५ लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेपछि सीआइबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १२:४६