सूचनाको शक्ति - The Power Of Information

        

मौसमी कामदार कोरिया जाने

कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ ।

कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरियाको ‘सिजनल वर्किङ’ भिसा का लागि दुई सरकारका स्थानीय तहबीच सम्झौता भएको जनाउँदै संघीय सरकारको वैधानिक अनुमति मिलाएर पठाउने तयारी भइरहेको बताए ।

‘कोरियाको सिजनल भिसामा श्रमिक पठाउन नेपालका स्थानीय तहले धेरै युवा छनोट गरेको पाइएको छ’, महानिर्देशक आचार्यले भने, ‘नेपालको संविधानमा दुई देशबीचको सम्झौता संघीय सरकारले गर्ने उल्लेख रहेको छ ।

यही कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको हो ।’

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०७:३६